नौ महिना पेटमा राख्दा कति कष्ट पाइन्,
तिम्रै लागि सधैँ तिनले आधा पेट खाइन्।
जन्माएकि होईनन् तिम्रो कुनै पनि आशले,
कति पिडा हुँदो होला सधैँ एक्लो बासले।।
पढ्ने, लेख्ने वाहानामा शहरतिर पस्यौ,
धन कमाइ घरजम गरि त्यतैतिर बस्यौ।
चाडपर्व आउँदा आँखा बाटोतिर लाउँछिन्,
छोरो भोकै होला भनि सधैँ चिन्ता लिन्छिन्।।
घाँस, दाउरा गर्दा गर्दै गुन्यौँ चोलो फाट्यो,
छोरो आउने दिन गन्दै साठी बर्ष कट्यो।
झुपडीमा एक्लै छाडी तिमी डाँडाँ काट्यौ,
भोलि आउँछु भन्दै सधैँ परमेश्वरलाई ढाँट्यौ।।
शिर उच्च हुन्न कहिले धन मात्र कमाइ,
जन्म दिने जननीलाई सधैँ पर बनाइ।
कति चोली भिजे होलान् सधैँ एक्लै रुँदा,
छोरो सफल बन्छ मात्र आमा साथमा हुँदा।।