११ बैशाख २०८१, मंगलबार

कविता – माघको पूर्णिमा


Shobha Kafle Khatiwada शोभा काफ्ले खतिवडा

निस्पट अँध्यारो ,
पर पर दुर क्षितिजमा झैँ
यो मनको सुमधुर स्नेहमय आभाष;
तर उज्यालो भने
हृदयको समिप अनि मनको पास, पास
झन पास झन समिप !!

निलो गहिरो सागर
झैँ छ रातको स्वरुप,
चकमन्न सुनसान तर मोहक हरेक पल अनि निमेशहरु चिर्दै अन्धकार फाल्न उध्धत र चलायमान !!

नयन पर परसम्म टोलाउँदा देखिने सुन्दर दृष्यको मनमोहक मादकता,
मनको स्वरुप,
गगन भरी जगमग,
ताराहरु एक आपसमा मिठा मिठा
बार्तालापमा मग्न झैँ प्रतित !

मनले कतै खोजेको श्याम वर्णको स्फटिक झैँ चन्द्रको सौम्यता मादकता थाली भरीको भक्ति मायाँको स्वरुप अर्पण गर्न मन आतुर, माघको पूर्णिमा,
पूर्ण रुपमा
शिवमय !
सत्यमय !!
सुन्दरमय !!!
मेरो समर्पण गहिराईसम्म !!

उज्यालो वर्ण,
मानौ कुनै मन मोहक मादकता सहित सुन्दर साम्राज्यमा बिराजमान !!

ऊ पनि निस्पट अन्धकार चिर्दै मोहनी रुप सजाएर मग्न मस्त समिपताको वोधमा लालायीत
त्यो पनि मेरै धडकनसित पो बार्तालापमा मग्न !!
मन रमायो, खुशी कति कति, अधर थरथराए,
चाहना मायाँका, समृद्दि र विकासका अनि हरेक मन एकताका !!
खुशी एक्कासी
यो व्रम्हाण्ड जति !!
मनको ब्याकुलता !
मुटुको प्रवल चाहना ,
सबै सबै प्राप्ति !!

सगरमाथाको शिखर झैँ हृदयको ब्याकुल चाहना;
मायाँले चुचुरो छुन लालायीत ,
स्थान पवित्र मुटुको कुनो,
पल मदहोश !!

फेरि हृदयका भावहरु छुन लालायीत !
मुटु न हो,
मिलनका पल पाउन
ब्यग्र !
थरथर काम्दै अधर,
पल पवित्र मायाको !
अधरको चाहना यथावत, अनन्त !!

मुटु प्राप्तिमा सन्तुष्ट,
अँध्यारो चिर्दै
सूर्य लालीमा लिएर धरा भरी खुशीका फूल छर्न लालायीत ,
छरी कमायो अंशु अंशुमानका पूष्प,
वुद्धत्वको शान्ति मनभरी,
शोभायमान बन्यो
मुटुको मायाँ र
हृदयका भाव
हर्षले गदगद !!
बस !!
साक्षी त ताराहरु न हुन,
लजाए मुस्कुराए र ताराहरु आफैँ माला बनेर गलाभरी सजिन तत्पर बने !!
शोभायमान बन्यो पवित्र मायाँ !
धन्य समय, धन्य यो मायाँको अपूर्व साथ !
सफल जीवन र मटुटुका कामना !!
मन आकास धरा प्राणी र हृदयको चाहना शान्ति !
असतोमा सत्त गमय:
तमसोमा ज्योतिर्गमय:
मृत्वर्मा अमृतं गमय:!!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !