जब,
उम्रन थाल्छन् पालुवाहरु नै – विष बोकेर,
फुल्न थाल्छन् कोपिलाहरु नै – दुर्गन्ध लिएर,
अनि हुन्छ आभाष – समय उल्टो बहिरहेको |
ठीक त्यहि आभाष हुनुसँगै आउँछ मालीको मनमा,
एक महाभूकम्प-२०७२ बैशाख १२ को जस्तै |
ढल्छन् गर्ल्यामगुर्लुम्म महलहरु – आशा अनि सपनाका ,
धुलिसात् हुन्छन् मन्दिरहरु – सम्बन्ध र विश्वासका,
कालो बादलभित्र बिलाउँछन्|
भविष्यहरु- सुन्दर कल्पनाका |
उप्रान्त,
ए , मालीहरु हो !
बन्नु अझ बढी होसियार-
तिम्रो नन्दन वागमा फक्रिरहेको कोपिलाले
कदाचित्,
बोकिरहेको त छैन – दुर्गन्ध,
संगालिरहेको त छैन – विष ?
किनकि,
चलिरहेको छ समय – उल्टो दिशामा…
उल्टो दिशामा… |
– तीर्थराज भट्ट ([email protected])