हरेक नेपालीको घर दैलोमा तिमी आफैँ नै घुम्दै पुग !
तिमी जगत पुग्दा एकछाक खान नपाउनेहरुलाई सोध !!१
भिर पाखा अक्कर बस्दै हिउँमा झुपडी घर हुनेहरुलाई सोध !
घाँस काटन जाँदा भिरमा लडेरखोलामा बग्नेलाई सोंध !!२
एक पेट खान नपाएर मृत्यवरण गर्नेलाई सोध !
लाउन चिथ्रो नभएर पनि बाँच्न बाध्य हुनेहरुलाई सोध !!३
चर्को घाममा धान रोपेर पनि भोकै बस्नेहरुलाई तिमी सोध !
मानव भएर जन्मिएर पनि पशु सरहको जीवन बाँच्नेलाई बुझ !!४
कति पिडा अनि कति कष्ट छ तिनको हरेक पल र क्षणमा !
जीवन पाउनु भन्दा गुमाउन आतुर हुनेहरुलाई बुझ !!५
ज्याला मजदुरी गरेर आफ्नो जीवन विताउनेलाई सम्झ !
महलहरु बनाई झुपडीमा जीवन बिताउने हरेक दु:खीलाई सोध !!६
कर्म गरेर पनि भिर र पाखा कोर्दै भोकै अनि नाड्गै बस्नेलाई हेर !
जीवन धान्न हरपल आँशु बलिम्द्र धारा बगाउनेलाई बुझ !!७
पहाडमा तरुल र भ्याकुर खाएर जीवन विताउनेहरुलाई सोध !
एकछाक खान आफ्नो खुशी बेच्ने विवस र बाध्य मनलाई सोध !!८
देश मेरो बन्छ भनेर प्राण फाल्ने हरेक नौजवानहरुलाई सोध !
छोरो आउँछ र ऋण तिर्छ भन्ने ती बृद्द बाबु आमालाई सोध !!९
नव विवाहिता छाडी कतार र खाडीमा ढाड सेकेर पनि कमाउने मनलाई सोध !
परिवार पाल्न जीवन गुमाउने हरेक असल जीवनलाई बुझ !!१०
दु:ख र पिडामा छन अधिकाँश नेपाली तर पनि कसरी होला यसरी हाँस्छन !
पिडा हटाउने दु:ख विर्साइदिने कोही आउला भन्ने सुनौलो आशामा छन् !!११
साँचों नेपाल र नेपाली बुझ्न राजधानी हैन अक्करमा पुग !
मार्सीको स्वाद भन्दा मिठो कोदो र गुन्द्रुक मानेर खानेको पिडा बुझ !!१२
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।