१२ पुस २०८१, शुक्रबार

प्रश्न सहअस्तित्वको


कविता

म को हुँ ?
तिमी जस्तो हो कि होईन ?
यो देश,
जसलाई तिमी आफ्नो भन्छौ
यो मेरो चाहीँ हो कि होईन ?
आज मलाई हरेक प्रश्नको उत्तर चाहिन्छ ।
म,
न त पाँचौ वर्णको हुँ
न त सड्तिसौं जातको हुँ
त्यही चार र छत्तिस भित्र बाँधिएको मेरो अस्तित्व
किन तिम्रो लागि सम्मानजनक छैन ?
मलाई आज कारण चाहिन्छ

मेचीमा तिम्रो रगत बग्दा
कालीमा मेरो पनि रगत बग्दैथियो
आगोमा तिम्रो पाउ पर्दा
मेरो शरिर पनि जल्दैथियो
जति तिमीले सह्यौ,
त्यती नै मैले भोगेको छु ।
जति तिमीले देख्यौ,
त्यती नै मैले सहेको छु ।
फेरि किन तिम्रो लागि मेरो बलिदानले अर्थ लिएन ?
मलाई आज अर्थ चाहिन्छ ।

तिमी बरु आमाको काखमा लुट्पुटियौ
मैले यही माटोलाई आमा मानें,
यसैमा लडिबुडि खेलें,
यसैमा निदाएँ,
यसैमा ब्यूँझिए,
यसैमा उभिएको आफुलाई चिनें,

मेरो पसिनाले धर्तिको प्यास मेटाएँ,
मेरो नङ्ग्राले द्रोहीका आँखा निकालें
तर किन तिम्रो लागि मेरो बहादुरीको मूल्य छैन ?
मलाई आज मूल्य चाहिन्छ ।
म,
न त पाँचौ वर्णको हुँ
न त सड्तिसौं जातको हुँ
त्यही चार र छत्तिस भित्र बाँधिएको मेरो अस्तित्व
किन तिम्रो लागि सम्मानजनक छैन ?
मलाई आज कारण चाहिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !