१२ पुस २०८१, शुक्रबार

छुटेकी उनी र नछुटेको चुरोट


Story

अचेल हरेक साँझ चुरोट पिउनकै लागि लगभग पन्ध्र मिनेट मोटरसाइकल कुदाएर यो पसलमा आउने गर्छु। कहिलेकाहिँ दिनमा पनि आउँछु। तर दिनमा ऊ पसलमा देखिन्न, त्यसैले चुरोट नै नपिइ फर्कन्छु। मलाइ हरेक साँझ यो पसल सम्म डोर्याएको चुरोटको तलतलले भने पक्कै हैन। म अरुबेला खासै चुरोट नै पिउँदिन। यदि पिउने नै हो भने पनि यति टाढा सम्म आउन कुनै आवस्यक नै छैन। तरपनि म अचेल हरेक साँझ यो पसलमा आएर चुरोट पिएकै हुन्छु।

हरेकपटक म पसलमा पुग्दा ऊ झसंग झस्कन्छे। मुस्कुराइ रहेको उसको अनुहार एकाएक भावबिहिन झैँं लाग्दछ। एक पटक म पटि फर्किएर हेर्छे अनि फेरि नजर झुकाउँछे। म पुग्ने बित्तिकै ढिला नगरी चुरोट मागिहाल्छु। उसले मेरो अनुहारमा पनि नहेरी मधुरो स्वरमा प्रश्न गर्छे “कुन?”

“सुर्य!” म भाव रहित स्वरमा उत्तर फर्काउँछु।

म यो पसलमा आउन थालेको हप्ता दिन बितिसक्दा पनि हामिबिच यहाँ भन्दा बढी संवाद भएको छैन। ऊ नजर झुकाएर नै मेरो हातमा चुरोटको खिल्ली थमाइदिन्छे। म खल्तिबाट पैसा निकालेर उसको हातमा राखीदिन्छु। भित्तामा धागोले बाँधेर झुन्ड्याइको लाइटरले म चुरोट सल्काउँछु अनि अगाडिको बेन्चमा गएर बस्छु। म चुपचाप बसेर चुरोट तानि रहँदा घरिघरी मेरा नजर ऊ तिर मोडिन्छन्। कुनैकुनै बेला ऊ पनि अनौठो नजरले मलाइ हेरिरहेकी हुन्छे। जब मैले पनि उसलाइ हेरेको थाहा पाउँछे तब झस्किएर आफ्ना नजरहरुलाइ अरुतिर मोड्दै वास्ता नगरे झैँ गर्छे। केहिबेरमा नै मेरो चुरोट जलेर फिल्टर नजिकै पुग्छ। चुरोट सकिए संगै मेरो त्यहाँ बस्ने बहाना पनि सकिन्छ। म उठेर मोटरसाइकलमा बस्छु अनि एकपटक फर्किएर झलक्क उसलाइ हेर्छु। ऊ उसै गरि मलाइ नै हेरिराखेकी हुन्छे। जब म फर्किन्छु तब झस्कदैँ नजर अन्तै मोडिदिन्छे।

आज आठौँ दिन, सधैँ भन्दा केही फरक भएको छ। आज पसलमा ऊ एक्लै छैन। उसको साथमा सानो बच्चा पनि छ। म पसल अगाडि पुगेर मोटरसाइकल रोक्ने बित्तिकै उसले देखिहाली। सधैँ झैँ आजपनी ऊ उसैगरी झस्किइ। उसको अनुहार सधैँ जस्तै अँध्यारो भयो। म मोटरसाइकलबाट उत्रीएर सरासर पसलमा पुगेँ। उसले छेउमा खेल्दै गरेको बच्चालाइ तानेर आफ्नो काखमा राखी। मैले सधैँ झैँ चुरोट मगाएँ। उसले एउटै हातले चुरोट निकालेर मेरो हातमा राखिदिइ। मैले त्यति नै बेला बोलिहालेँ “तिम्रो बच्चा हो?”

म बाट अनपेक्षित प्रश्न सुनेर होला, ऊ हडबडाउँदै बोली “हजुर… हो… छोरा!”

उसको मलिन अनुहार झनै कालो भयो, अनि मेरो पनि। म के बोल्ने भन्ने कुरामा अलमलिएँ।

“भयो चुरोट पिउँदिन….. राख यो!” मैले हतारिदैँ बोलिहालेँ। उसले आस्चर्यचकित नजरले मलाइ पुलुक्क हेरेर हात अगाडि बढाइ। मैले चुरोट उसको हातमा राखिदिएँ। यो पटक हामी दुइका हातहरुको स्पर्श भयो। जुन स्पर्शले मलाइ तरंगित बनायो बर्षौँ पहिलेको उसको पहिलो स्पर्शले झैँं! उसले झट्टै हात तानेर चुरोट राखी अनि नजर भुइँ तिर झुकाइ। मलाई भने त्यो स्पर्शले पुराना दिनहरु तिर फर्कायो।

जुन हातको स्पर्शले आज म तरंगित भएँ, ती हातसंग मेरो पहिलो स्पर्श भने हैन। मलाइ ती हातहरुले हजारौँ पटक छोएका छन्। कुनै दिन तिनै हातहरुले मेरा हातमा पकडेर उसले रुञ्चे स्वरमा भनेकी थिइ “तपाईं चुरोट नपिउनुस् न प्लिज। किन मलाइ झुट बोली बोली सधैँ पिउनुहुन्छ भन्नू त?”

मैले उसलाइ तानेर अंगालो हाल्दै भनेको थिएँ “पिएको छैन के सानू। मैले छोडी सकेँ त अनि।”

ऊ रिसाए झैँं गरेर मेरो अंगालोबाट छुट्दै बोलेकी थिइ “फेरि झुट बोल्दैहुनुहुन्छ। थाहा हुन्न कि क्याहो मलाइ? डङ्डङ्ती सास गनाइरा’छ।”

“नरिसाउन त सानू! छोड्न अलिक समय त लागिहाल्छ नि। धेरै कम गरेको छु के। अब केहिदिनमा नै पुरै छोड्दिन्छु पक्का!” मैले उसलाइ फेरि नजिक तान्दै फकाएको थिएँ।

“तपाइँ नछाड्ने हो भने म पनि सुरु गर्दिन्छु फेरि।” उसले घुर्क्याएकी थिइ।

“हुन्छ नि। संगै बसेर तानौँला नि है बुढाबुढी?” मैले जिस्काएको थिएँ।

“भैहाल्छ नि! पछि छोरालाइ पनि सिकाउन पर्छ है?” ऊ रिसाएकी थिइ।

“अँह हुन्न छोरालाइ त। छोरालाइ त ज्ञानि बनाउन पर्छ।” उसलाइ अंगालोमा च्याप्दै बोलेको थिएँ मैले।

“इस्स् भयो ज्ञानी! बाउको बिँडो थाम्न परेन? तपाइँले चुरोट तानेसि उसले नि तान्छ नि।” उसले मुख फुलाउँदै बोलेकी थिइ।

“मैले छाड्छु भनुरा’छु त डल्ली! छोराले मैले चुरोट तानेको देख्न त के सुन्न नि पाउँदैन।” मैले उसलाइ जोडले कस्दै बोलेको थिएँ।

“हेरौँला है त?” ऊ मुस्कुराउँदै बोलेकी थिइ।

ती पुराना सुनौला दिनहरु सम्झिएर म भावुक भएछु। मेरा आँखाहरु भरिन लागेछन्। मैले एकपटक उसको अनुहारमा हेरेर सानो स्वरमा बोलेँ “छोरा राम्रा रहेछन् तिमी जस्तै!”

उसले पनि थोरै नजर उठाइ। उसका पनि आँखाहरु टिलपिल हुनैलागेका थिए। उसले केही बोलिन। म संग पनि थप बोल्ने शब्द थिएनन्। म फनक्क फर्किएर मोटरसाइकमा बसेँ अनि ऊ पटि फर्केर पनि नहेरी मोटरसाइकल स्टार्ट गरि एकहोरो अगाडि बढेँ…।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !