१२ पुस २०८१, शुक्रबार

मेरो जिन्दगीको शुभ दीप


Story

मोबाईलको स्क्रीनमा उसको नाम देखे “सुदीप” अनि साथमा म्यासेज “Thank you” । एकछिन सोचे आचानक म प्रति धन्यवाद ब्यक्त गर्नुको कारणहरु । लामो समय भएकाले होला मस्तिस्कले जबाफ पठाउन सकेन!

स्क्रोल गरेर हेरे, माथि थियो एक महिना अगाडी मैले पठाएको म्यासेज ” Happy Birthday Sudip” । जब जब उसको नाम फोनमा देखिन्थ्यो, तब तब मेरो मनमा थोरै फुरुङ्ग त थोरै काउकुती लाएको जस्तो र थोरै निराशा हुने गर्दथ्यो । आज भने तेस्तो भएन र एक पल नसोची मैले लेखे,”तिमि ठिक त छौ? यतिका दिन सम्म कता हराएको थियौ ।”

उसको उत्तरको पर्खाई, अनि मेरो मानस पटलमा एकपछि अर्को गर्दै घटनाक्रम चलिरहेको थियो।

केहि दिन अघि मात्र कुरा हो , एउटा साथीसंग कुरा गरिरहदा पर्सङ्ग आयो, “कसैलाई लव एट फस्ट साइट हुन्छ?” मैले प्रतिउत्तरमा भनेकी थिए,”लव एट फस्ट मिट चाही हुन्छ है । ” यति भनिरहदा मैले तिमीलाई, हो मात्र तिमीलाई सम्झिरहेकी थिए, सुदीप । अनि तिमीलाई हेल्लो भनेर म्यासेज पठाउन थाल्दा यसो हेरेको बिस दिन अगाडी पठाएको जन्मदिनको शुभकामनाको उत्तर पाएकी रहिन रहिछु। तिमि पनि active long time ago । नम्बर खोजे, भेटिन । देशमा आफ्नो सबै थोक छोडेर आउदा, तिम्रो फोन नम्बर पनि उतै कतै छोडीएछ । अनि मैले यो दुई वर्ष सोध्नै बिर्सेकी रहिछु । तिमिले अनलाइन रीप्लाई गरिरहेका हुन्थ्यौ पहिले त । तर अहिले के भयो ? कता गयौ? कि मलाई ख्याल बाट हटाउन mute गरेको ? मनमा हजार प्रश्न, तर उत्तर आन्तरिक्क्षझैँ सुन्य ।

बिनिता दिदी मेरो फुपूको छोरी, बिनिता दिदीको फुपूको छोरा चॉही सुदीप । दिदीलाई टेक्स्ट गरे,” दिदी मलाई सुदीपको नुम्बर दिनुस न । ” दिदीसंग खास्सै कुरा पनि हुन्न थियो र त्यति धेरै नजिक पनि थीइन । त्यसैले लाज लागीलागी पनि लाज पचाएर सोधेकी थिए । भन्छन केटीमान्छे कुरा खोतल्न, निकाल्न, र लगाऊन सिपालु हुन्छन् । दिदीले किन चाहियो मेरो भाइको नुम्बर भन्नुहुन्छ कि भन्ने पनि त्यत्तिकै डर थियो ।

मैले सुदीपको प्रोफ़ाएल खोले । तल हेर्दै जादा ऊसको एक महिना अगाडिको जन्मदिनको पोस्टहरुमा न त लाईक नै थियो न त कमेन्ट नै । कहाँ गयो होला त यो केटा? के मसंग बोल्न पर्छ भनेर फेसबुक चलाउन नै छाड्यो ? यस्तै यस्तै प्रश्नहरुले दिमाग भरियो । उसको कलेजको साथीहरु ट्याग भएको फोटोमा हेरे । त्याहॉबाट छानेर दुई जनालाई म्यासेज गरे । धड्कन जति तिब्र गतिमा चलेपनि त्यति नै नम्र भएर पठाए । ” Can you please give me Sudip ko phone number?” त्यो रात मलाई निन्द्रा आउन निकै गाह्रो भयो । लाग्दै थियो नारायण गोपालको मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ भन्ने गीत यस्तै बॊझ भएको अवस्थामा लेखियको हो । मनको छटपटीलाई शान्त पार्न भिडीयो हेरे, गीत सुने, किताब पढ्ने कोसिस गरे तर अह्ह एक रत्ति पनि भएन । मेरै मन मेरै आधीनमा थिएन । पछी कतिबेला निदाईछु पत्तै भएन । बिहान मिर्मिरेको ऊज्यालो संगै सुदीपको साथीले दियो अध्यारो संदेश, “सुदीप? ऊसको त फोन नै उठ्दैन l तीन महिना भयो सम्पर्क बिहिन भएको । ” म अचम्मित भए। ऊसको होस्टेलमा बस्ने, सबै भन्दा मिल्ने साथीहरुसंग सम्पर्क बिहिन छ l सुदीप तिहार मनाउन घर गएपछि फर्केको थिएँन रे l कसैको पनि फोन रिसिभ गर्दैन रे । बादल गर्जिए जस्तै ऊसको कुरा मनमा गर्जिए । यो सबै कुरा झुट जस्तो लग्यो । अब त झन् डर बढ्यो साथै प्रश्नहरु पनि पछ्याए । आखिर कलेजनै छाडेर कता गएको होला? कतै ऊसलाई केहि त भएको छैन? कतै घरमा कसैलाई ? होइन होला । अनि सम्पर्क बिहिन चै किन नि ? म र मेरा मन, मुटु, दिमाग चार दिशामा हिड्दै थिए । अनि धैर्य गर्दै म सबैलाई एकिकृत गर्ने सक्दो प्रयास गर्दै थिए।

जसो – तसो दिन बित्दै थियो । अनि आजको यो दिन छ, जब एक महिना पछि उसले Thank you भन्यो । केहीबेर पछि उसको रिप्लाई -“म त रिह्याब गएको थिए यार ।” त्यो गर्जिरहेको बादलबाट बिजुली मै माथि बर्सेको जस्तो झट्का लाग्यो । फेरी सोचे उ माथी चाही कुन बिजुली बर्सेर, त्यहाँसम्म पुगेछ? मलाई कसरी त्यहाँसम्म पुगेको भनेर सोध्ने मन नै भएन । उ संग बोल्न अझै पनि उत्तिकै डराउछु म । दशओटा कुरा मनमा खेलाएर एउटा वाक्य मुस्किलले फुट्यो । “तिमी ठिक त छौ ? अहिले घर आएको हो? ” मैले केहिनै नभए जसरी अझ भनौ उसलाई बोल्न अप्ठ्यारो नहुने गरी सोधे ।

“ठिक छु । तिमीलाई कस्तो छ? ” सधै जस्तै उसको एउटै टोनको म्यासेज ।” म ठिक छु । तिमि पो हरयेउ त । घरमा सबैलाई ठिक छ नि?” धेरै प्रस्न सोधे कि जस्तो भयो तर अरुलाई के थाहा, मेरो मनको सागरमा साना देखि ठूला जल- प्राणी सलबलाए जस्तै विभिन्न आकारका प्रस्नहरु साल- बलाई रहेका छन् ।

कुरा पाच वर्ष अगाडीको हो । कुरकुरे बैस ढल्किन लाग्दा पनि मेरो मन कोहि प्रति ढल्केको थिएन । गाउका वा बिद्यालयका सबै केटाहरु दाजु- भाइ जस्तै लाग्थ्यो । अझ भनौ कसैलाई प्रेमीको नजरले मेरा आखाले हेर्न भ्याएका थिएनन् । मेरी दिज्जु ‘सुभेक्ष्या’ अस्ट्रेलियाबाट दुइ महिनाको बिदामा आउनु भएको थियो । विदेश गएर पहिलो पटक आएको साथै मेरो पनि छुट्टि भएकोले हामी भ्याएसम्म सबै इस्ट-मित्रकोमा जाने क्रममा बुटवलमा रहनु भएकी फुपूको घरमा गयौ । चितवनबाट बिहानै चिया पिएर निस्किएको, दुई घण्टामा नै बुटवल पुगियो । घरमा फुपू, बिनिता दिदी अनि एउटा नौलो तर आकर्षित अनुहार थियो । जसलाई न त मेरो दिदी न त मैले चिन्न सक्यौ । बिनिता दिदीले भन्नुभयो -” उ मेरो फुपूको छोरा – सुदीप । दुई वर्ष भयो यही बसेर पढ्छ । गुल्मीमा चाहीँ अरु परिवार हुनुहुन्छ । पढाइ एकदमै राम्रो छ । पछिल्लो परिक्षामा ९१ प्रतिसत ल्याएको थियो । ” लाग्थ्यो दिदी उसलाई आफ्नो भाइ भन्न पाउदा निकै गर्भ गर्नुहुन्छ । या भनौ कुनै मागी विबाह गर्दा सबै गुणहरु एकैसाथ भने जस्तै ।

त्यस पछि खाना खाएर हामी घुम्न निस्कियौ । प्लान फिल्म हेर्न जाने थियो, तर राम्रो सिनेमा नलागेकोले बुटवल बजार नै घुम्ने निर्णय गरियो । कहिले रिक्सामा भने कहिले एघार नम्बर खुट्टाको सवारी । घुमेर घर फर्केर आराम अनि भोलिपल्ट हाम्रो चितवन फिर्ता । त्यो दिन न त मेरो मनमा कुनै मिठो धुन बजेको थियो, न त सिरसिर बतास नै चलेको थियो । तर तिमीले केहि दिएर पठाएछौ – तिम्रो याद । यही सोच्दै गीत सुनिरहेकी थिए – ” किन आउछ तिम्रो याद एकान्तमा यति धेरै ?”

अनौठा भावनाहरु त घर फिर्ता भए पछि आउन थाले । औशीको जुनले आफ्नो सुन्दर प्रकाश कतै लुकाए जस्तो, मेरो मनले पनि प्रकाशको आभाष गर्दै थियो । यो के भैरहेको थियो केहि थाहा थिएन किनकी जे थियो पहिलो पटक थियो । जन्मेदेखि उन्नाइस बसन्त पार गरिसके पनि लाग्दैथ्यो, तिम्रो आगमनले बसन्त त बल्ल छाहेको छ ।

तिमीलाई भेटेको पल त म अर्को जन्ममा पनि बिर्सिन सक्दिन होला । भेट पनि श्री कृष्ण जन्मस्थामीमा भएको थियो । के उसलाई याद छ होला ? जहिले उसलाई सम्झिदा लाग्छ भगवान्ले नै भेट गराएका हून । अनि त्यस दिन घुम्दै जादा पहिला पशुपतिनाथको मन्दिरमा भोले बाबाको आशिर्बाद, त्यसपछि घुम्बामा बुद्धको ज्ञान अनि कहिल्यै मस्जिद नगएकाले बिनिता दिदीको सुझाभमा अल्लाहको रेहेमत पनि पाएका थियौ । लाग्थ्यो चाहे भगवान एक हून या अनेक सबैले आशिर्बाद दिदै भनेका छन् – ” तिमी सुदीपको लागि बनेकीछ्यौ । हामीले तिमीलाई उसैको निम्ती बनाएका हौ ।” मेरो जिन्दगीको शुभ दीप – सुदीप । अनि पानीपुरीको सानो प्लेट पास गर्दा तिम्रो हातले अनायासै मेरो हात छोइयेको थियो । कहिले कहिँ आफ्नै मुटु आफ्नै हातसंग इर्ष्या गरेर भन्छ – ” त त कति भाग्येमानी रहेछस हात । उसले तलाई स्पर्स गरेको जो थियो । मन त उसले छुन र बुझ्न कहिले खोजेन ।” त्यो पानीपुरी जस्तो बिशेष पानी पुरी त ब्रह्माण्डमै कतै/कहिल्यॆ बन्दैन होला । हरेक पटक पानीपुरी खादा इच्छा गर्छु कि तिमी संगै पनि पुरी खान पाए , फेरी त्यसै गरि थोरै भए पनि छुने अवसर मिल्थ्यो कि ।

हो। उ साचै नै शुभ दीप झैँ मेरो जिन्दगीमा प्रकाश पर्दै थियो । तिहारमा दियोमा बलेको दीपले संसारै झिलिमिली बनाए जस्तै, उसको यादले मात्र पनि मेरो मुहारमा मुस्कान सहित उज्यालो हुन्थ्यो । सरलक्क ज्यान मिलेको, न धेरै मोटो न पातलो, शर्ट र जिंस पाइटमा सरल तथा सुन्दर थियो उ । कमसेकम मेरा लागि संसारकै सबै भन्दा सुन्दर । अनि तिम्रो मिठो मुस्कान को त बयान गर्न कुनै शब्द नै बनेको छैनन् होला । जब तिम्ले आफ्नो मुख खोलेर मुस्कानको जादू छर्थेउ लाग्थ्यो खडेरीको सुक्खा जग्गामा पानी पर्दैछ ।जहिले – जहिले तिम्रो दन्ते लहर देख्छु, मन-मनै सोच्छु – “भगवानले येति मिलेका दात र मुस्कान दिन सक्छन र? सबै मानिसको यस्तै मिलेका दात भैदिए, संसारका आधा भन्दा बढी दन्त चिकित्सक बेरोजगार हुने थिए ।”

पत्तै भएन बुटवलमा बिताएको चौबिस घण्टामै मेरो मन तिमीमा सुम्पिएछ । स्कुलका साथीहरुलाई दिदीको निहुमा तिमि संग खिचेका फोटाहरु देखाउदै तिम्रो मात्र बयान गर्दो रहेछु । म त थोरै बुध्धु रहेछु बुझ्ने सकिन। साथीहरुले भने बुझिसकेछन् । बर्षा अगाडी बादलले पुरा आकाश घेरिएर आए जस्तो मेरो जीवन तिम्रो मायाले घेरिएको थियो । हेर्न बाकी थियो कि त्यो बर्षाले माया को पालुवा सप्रनछ या मुसलधारे पानीले झैँ मारेर जान्छ ।

त्यस दिन पछि हरपल तिम्रै यादमा बसिराखेको थिए म । बाबाले दुखले सजाएको फूलबारीका फूल र दुखले पालेको छोरिको मिलन हुन तिमीले मद्दत गर्यौ । ति फूल्हारुसंग कुरा गर्न थालेकी थिए ।मेरै घरमा यति सुन्दर रचना रहेछ, पहिले मलाई किन थाहा नै भएन? मायामा सॉचै एक अलग शक्ति हुने रहेछ अनि सबै वस्तु मायालु लाग्ने रहेछ । अनि आफ्नो जिन्दगीमा केहि बन्नु छ उसको लागि भन्ने सोच उत्पन्न हुने रहेछ ।

तर यो संसारमा हरेक मायामा कतै न कतै स्वार्थ हुने रहेछ । म्यासेज, कलको रिप्लाई मनले कुर्दो रहेछ । तिमी भने कहिले राम्रोसंग बोल्थेउ, कहिले वास्ता नै नगरिदिने । धेरै हिम्मत जुटाएर फोन गर्थे महिनामा एक पटक जस्तो । पहिलो पटक फोन उठाए पछिको तिम्रो ‘हेल्लो’ ले त मेरो मुटुको खाली कागजमा स्थायी छाप छोडेको छ । परिपक्क हुने उमेर नजिकिदा त्यो छाप झन् गाढा हुदै गएको भान हुन्छ ।

अपसोस, जति माया मैले तिमीलाई गर्छु त्यति माया तिम्लिले अरु कसैलाई गर्दो रहेछौ । तिम्रो जिन्दगीमा प्रवेश गर्न म अलि ढिलो भएछु अनि अर्कैले प्रवेश गरेर ढोका बन्द गरिदिएछ ।अनि त्यो भाग्यमानी केटीको अर्कै संग बिहेको खबर पछाडी तनाबले उसलाई रिह्याबसम्म डोर्याएर लागेछ। हामी दुवै मायाको भिन्न खोली तर्दैथियेउ । मैले त पानीको छालको मोह छोडेर किनारा लागे । तिमी भने माथि-तल लच्किएको छालको मोहमा येसरी बग्दै गयेउ कि किनारा लिनै बिर्सिएछौ ।

मैले भबिस्यमा मेरो सरिर अरु कसैलाई सुम्पिन परे पनि पुरै मन दिन सक्ने छैन किनकी य मुटुको कुनै एक कुनामा सधै तिमी र तिम्रा यादहरु छन् जुन मा कसैलाई दिन सक्दिन र चाहन्न पनि। आज तिम्रो पिडा र तिम्रो प्रेमिकाले छोडेको कुराले एक मन त खुसि भए कि भगवानले अझै एक चान्स दिएको छन् तर दुख लाग्छ कि तिमीलाई सुदर्ने अवस्था सम्म मायाले पुर्यायो । यदी जीवनको मोडमा कुनै पनि समय मेरो साथको जुरारत पर्यो भने एक पटक भनि हेर्नु म तिम्रो लागि अनन्त उपस्थित हुनेछु ।अनि म तिमीलाई सधै यस्तै निस्वार्थ माया गरिरहनेछु । मलाई मेरो मायाको बदलामा केहि चाहिदैन । तिम्लाई माया गरिरहने अधिकारमा प्रतिरोध कसैले गर्न सक्दैन, तिमीले पनि सक्दैनौ ।

-समाप्त-

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !