८ पुस २०८१, सोमबार

राष्ट्रकवि माधव घिमिरेका स्मृतिमा अक्षयकोष स्थापना


माधव घिमिरे

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका स्मृतिमा उनकी धर्मपत्नी महाकाली घिमिरेले रु १६ लाखको अक्षयकोष स्थापना गरेका हुन् । प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी उक्त रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा राष्ट्रकविको सुपुत्रद्वय इन्दिवर र राजीव घिमिरे तथा प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष भाग्यशाली अधिकारी, महासचिव श्रीकृष्ण न्यौपाने, कोषाध्यक्ष लक्ष्मण थापा र सदस्य यामबहादुर दुरालगायतको सहभागिता रहेको थियो ।

उक्त अक्षयकोषबाट आउने ब्याजबाट वार्षिक एक जना साहित्यकारलाई रु एक लाख राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’समेत प्रदान गरिने भएको छ । उक्त पुरस्कार नेपालको भाषा, साहित्य, कविता, काव्य, गीत, गीतिनाटक, महाकाव्य, निबन्ध, समालोचनालगायतको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

पुरस्कार वितरणका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गर्ने भएको छ । उक्त टोलीले सिफारिस गरेको व्यक्तिलाई राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर हरेक वर्ष असोज ७ गते सो पुरस्कार वितरण गरिने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !