२ चैत, काठमाण्डौ । निलम कार्की निहरिका नेपाली सहित्य आकाशमा एउटा चम्किलो ताराको रूपमा वर्तमानमा उदाउनु भएको छ । चीरहरणले नेपाली साहित्य क्षेत्रमा उहाँलाई जुन उचाइमा पुयाएको छ, विशेषगरी युवा पुस्ताले धेरै सिक्न सक्ने उदाहरण बन्नुभएको कुरा सबैमाझ स्पष्ट छ । त्यतिमात्र होइन विदेशी भूमिमा रहेर पनि नेपाली कला र साहित्यको क्षेत्रमा उहाँले खेल्नु भएको भूमिका एक असाधारण प्रतिभा नै हो । चिरहरणको सफलताकै माझ उहाँले अर्को कृति योगमाया लिएर पाठकमाझ आउनुभएको छ ।
विमोचनको छोटो समयमा नै लोकप्रिय बन्न पुगेको उपन्यास योगमायाकी लेखक निलम कार्की निहरिकासँग प्रकाशित कृतिका विषयमा केन्द्रित रहेर नेपालपत्रका सम्पादक सरोज रिजालले गरेको कुराकानी ।
तपाईंले कथा, कविता, उपन्यास, आदि सबै साहित्यका विधामा कलम चलाउनुभएको छ । तर तपाईं आफै निलम कार्की निहरिकालाई कसरी चिनाउन चाहनुहुन्छ ?
विधा भन्नु अभिब्यक्तिको मध्यम हो र यसर्थ, म जुन विधामा कलम चलाई रहेको भए पनि म लेखक हुँ ।
तपाईंको वाल्यकालको बारेमा पनि संक्षिप्त जानकारी दिनुहोस् । तपाईंको पारिवारिक पृष्ठभूमि पनि बताइदिनु हुन्छ कि ?साथै साहित्यमा लाग्ने उत्प्रेरणा कहाँबाट प्राप्त भयो ? तपाईंको आर्दश प्रेरणाको श्रय कसलाई दिनुहुन्छ ?
म पाल्पाको गोठादी भन्ने गाउँमा जन्मिएको हुँ । मेरो बुवा त्यहाको बिद्यालयमा प्रअ हुनुहुन्थ्यो् र मेरो आमा पनि सोहि बिद्यालयको शिक्षक । पछी बुवा राजनीतितर्फ हिडेर प्रध्यापन पेसा छाड्नु भयो तर आमा भने २५ बर्षसम्म अध्यापन पेशामा लागि राख्नुभयो । बुवा बढी समय बाहिर नै रहनुहुन्थ्यो । म भन्दा ४ बर्सले जेठो दाजु देबेन्द्र, मेरी दीदि आरती अनि म ३ जना बढी समय आमासंग मात्र भयौ । पछि मेरी आमाले गोठादीबाट दुई घन्टा जतिको पैदल दुरीको झडेवा भन्ने ठाउको बिद्यालयमा अध्यापन गर्न लाग्नुभयो । हाम्रो खेतिपाति सबै गोठादी मै थियो र झडेवाको हाम्रो परिवारको बसाई भन्नु अध्ययन र अध्यापन मात्र थियो । आमासंगै बिद्यालय गईन्थ्यो र चार जनासंगै आईन्थ्यो । हामी दाजु बहिनीहरुसंगै पढ्ने खेल्ने गरिनथ्यो र आमाले सुत्नु अघि कथा सुनाउनु हुन्थ्यो । मेरो प्रेणा आमा नै हो ।
तपाईं विदेशी भूमिमा रहेर नेपाली साहित्य आकाशमा कलम चालाउँदै हुनुहुन्छ । विदेश भनेपछि नेपालमा जस्तो जीवन बिताउन सहज छैन । तपाईंलाई समय व्यवस्थापनमा गाह्रो पर्दैन ? साहित्य सिर्जना गर्न कसरी समय निकाल्नु हुन्छ?
कलम चलाउन विदेशमा मात्र किन ? घर, देश मै पनि त सहज छैन र उत्तरदायित्व जहाँ गए पनि उही हो । अझ भन्छु घरदेशमा हुदाँ अझ बढी समाजिक काम र घर ब्यबहारमा व्यस्त भईन्छ । त्यो मेरो आफनै अनुभबले पनि भनेको कुरा हो । सबै कुरा मन हो । फेरी पनि भन्छु कुनै दिन साहित्यकार पद्मावती सिंह दिदीले मलाई भन्नु भएको कुरा‘हामी महिलाले निदसंग समय सापटी मागेर लेख्नु पर्छ ।’ चिरहरण लेख्दा त धेरै नै सापटी लिए समय तर योगमाया लेख्दा दिनमा पनि लेख्न सकें ।
एउटै चिरहरणले तपाईंलाई नेपाली साहित्यमा महत्वपूर्ण स्थानमा स्थापित गराइदियो । हाल योगमाया लिएर पाठकमाझ आउनु भएको छ । कतिकति अन्तरालमा कृति प्रकाशित गर्नुभएको छ?
बेली देखि योगमायासम्म आई पुग्दा हरेक दुई बर्षमा प्रकासन हुदै आएका छन । बेली (२०६८), अर्की आईमाई (२०७०),चीरहरण (२०७२), योगमाया (२०७४) । रहर मै २०५१ मा उपन्यास निकाले मौन जिबन अनि १२ बर्स सम्म आट गरिन । अनि २०६३ मा बल्ल हवन कथा प्रकासन गरे ।
चीरहरण र योगमाया दुवै इतिहासका विषय उठान भएका कृति हुन् । तपाईंले आफ्ना कृतिलाई कुन रूपमा पाठकलाई चिनाउन चाहनुहुन्छ ?
दुई एकै विधा अन्तर्गतमा पर्दछन । चीरहरण हिजोको द्वापर युग को हागा समाएर आज लेखिएको उपन्यास हो र योगमाया हाम्रो जिउदो ईतिहास हो ।
कृति पढेर पाठकले आ–आफ्नै ढगंले शिक्षा लिने गर्दछन् । तर तपाईं सिर्जनाकारका दृष्टिमा योगमायाले दिन खोजेको मुख्य सन्देश के हो ?
योगमायामा त्योबेलाको समाज छ र त्यो समयमा भोजपुरको सिम्ले गाउमा जन्मिएकी मायादेबी पछि योगमाया कसरी भईन र महिला कुन हदसम्म सामाजिक परिबर्तनको ज्वाला बनि हिड्न सक्दा रहेछन बुझ्ने मनन गर्ने र आफुमा शक्ति संचय गर्ने शक्ति पनि दिन्छ भन्ने लाग्छ ।
योगमाया कृतिमा केहि इतिहासका विवादस्पद कुराहरूलाई पुष्टि गर्ने प्रयास गर्नुभएको छ, के यो कृतिले साच्चै इतिहासमा लेखिएका उक्त कुरालाई सच्याउन मद्दत गर्छ ?
उपन्यास भन्ने बिर्त्तिकै ‘फिक्सन’ को कुरा आउछ । तर मैले लेखेको कुरा कुन धरातलमा उभिएर लेखेकी छु भन्ने तथ्य पनि सामुन्ने राखी दिएको छु ।
चिरहरण र योगमाया करिब दुईवर्षको अन्तरालमा प्रकाशित भयो । अब तपाईंको अर्को कृति प्राप्त गर्न पाठकले कति समय कुर्नुपर्छ ?
यसै भन्न सक्ने अबस्था त छैन । बाताबरण अनुकुल भै रहेको अबस्था मा, ०६८ साल देखि को ‘दुई’ बर्ष अन्तराल क्रम नटुटला तर यसै भन्न सक्दिन । अब केहि समय अध्ययनमा बिताउछु अनि बिषय छनोट गर्छु ।
कृति विमोचन भएको एक महिना भइसकेको छ, पाठकवर्गबाट कस्तो प्रतिकृया पाइरहनुभएको छ ?
म लेखि रहन उत्साहित छु । पाठक कै कारण निस्कनु अघि केहिले पाण्डुलिपि मै पढ्नु भएको थियो । ल ढुक्कले प्रकासनमा ल्याए हुन्छ भन्ने‘ग्रिन सिग्नल’ पाएपछि प्रकासकलाई बुझाएकी थिए । योगमायाले चिरहरणलाई बिर्साई दिने हो कि भन्ने डर डर पनि लाग्छ ।
अन्त्यमा, नेपालपत्रमार्फत आम पाठकवर्गमा के सन्देश दिन चाहनुहुन्छ ?
सकिन्छ भने पढेरमनमा लागेका प्रतिक्रिया दिनु होला । लेखकको आगामी लेखनको निम्ति पनि त्यो अति महत्वपूर्ण हुन्छ ।