७ बैशाख २०८१, शुक्रबार

८४औंँ जन्मदिनमा ‘विगत र वर्तमान’


साहित्यिक संस्था

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा निवासी टीकाराम पौडेलले ८४औंँ जन्मदिनको अवसरमा कविता सङ्ग्रह बजारमा ल्याउनुभएको छ । पौडेलले आफ्नो पहिलो कृति ‘विगत र वर्तमान’ कविता सङ्ग्रह बजारमा ल्याउनुभएको हो ।

कविता सङ्ग्रहको गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले विमोचन गर्नुभयो । सो अवसरमा प्रदेशसभा सदस्य पहारीले मानवीय जीवनको अभिव्यक्ति नै साहित्य भएको चर्चा गर्नुभयो । गण्डकी प्रदेश साहित्य, कला र संस्कृतिको उद्गमस्थल भएको पहारीको भनाइ थियो ।

चौरासी पुष्ठ लामो कविता सङ्ग्रहमा ८४ कविता सङ्ग्रृहीत छन् । शुक्ला साहित्य सङ्गम तनहुँले प्रकाशन गरेको सङ्ग्रहमा संस्कृति, संस्कार, विकृति, विसङ्गतिका विषयलाई समावेश गरिएको छ । बुबाको सिर्जनालाई जीवन्त राख्न पुस्तक नै प्रकाशन गरेको टीकारामका छोरा मोतीप्रसाद पौडेलले बताउनुभयो । “उहाँले पहिल्यैदेखि कविता लेख्नुहुन्थ्यो । कविता लेख्ने थन्क्याउँदै राख्ने गर्नुहुन्थ्यो, त्यसैलाई पुस्तकको रुप दिइएको हो,” उहाँले भन्नुभयो । पोखरा महानगरपालिकास्थित भलाममा जन्मिनुभएका दुलेगौँडा निवासी पौडेल पूर्व शिक्षक समेत हुनुहुन्छ ।

देवघाटमा नागरिक आरोग्य स्वास्थ्य केन्द्र्र

सर्वसाधारणलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न तनहुँको देवघाटमा नागरिक आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले देवघाट गाउँपालिका–५ मा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याएको हो । आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउनसमेत केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिनुभयो । आरोग्य केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गरिनेछ । केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिनेछ ।

जिल्ला आयर्वुेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले आधुनिक चिकित्सा प्रणाली भन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेको बताउनुभयो । यस क्षेत्रका सर्वसाधारणलाई आयुर्वेद स्वास्थ्य सेवाका लागि अन्यत्र भौतारिन नपरोस् भन्ने उद्देश्यसहित आरोग्य स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बस्नेतले जानकारी दिनुभयो । “पछिल्लो समय कोरोना महामारीका बेला सर्वसाधारणले आयर्वुेदको महत्व बुझे,” उहाँले भन्नुभयो, “यसको महत्व सर्वसाधारणलाई बुझाउन थप प्रचारप्रसार गर्छौ ।”

आरोग्य केन्द्रको उद्घाटन गर्दै देवघाट गलेश्वर आश्रमका स्वामी १००८ आत्मानन्द गिरिजी महाराजले देवघाटधाम क्षेत्रमा बढी वृद्धवृद्धा बसोबास गर्ने भएकाले पनि आयुर्वेद औषधि पर्याप्त मात्रामा केन्द्रबाट उपलब्ध हुनुपर्ने बताउनुभयो । देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले नागरिक आरोग्य सेवा केन्द्रबाट देवघाट गाउँपालिका जनसमुदायका धेरै व्यक्ति लाभान्वित हुने बताउनुभयो ।

चार सय फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षको यस अवधिमा ३६६ फरार प्रतिवादी पक्राउ गरेको छ । चालू आर्थिक वर्ष २७७÷७८ को साउनदेखि चैत १ गतेसम्म प्रहरीले जिल्लाका विभिन्न भागबाट ३६६ फरार प्रतिवादी पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट फैसला भई सजाय निर्धारण भएका प्रतिवादीलाई पक्राउ गर्न प्रहरीले अभियान नै चलाएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । प्रहरीले कर्तव्य ज्यान मुद्दामा विगत २७ वर्षदेखि फरार भानुका ५२ वर्षीय कुमार पन्थ भन्ने कुमारदेव पन्त, कर्तव्य ज्यान मुद्दामै १५ वर्षदेखि फरार शुक्लागण्डकी नगरपािलका घर भई हाल रुपन्देहीको देवदह नगरपालिका बस्ने ६० वर्षीय ज्ञानुमाया नेपालीलाई पक्राउ थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ महिनाको अवधिमा जबरर्जस्ती करणीका १४, कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगका दुई वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा २४० मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको छ । प्रहरीका अनुसार २१ वटा लागुऔषध मुद्दामा ४१ जना पक्राउ परेका छन् भने ६०० क्युफिट सालको काठ र तीन सय क्युफिट बाकलसहित तीन वटा सवारी नियन्त्रणमा लिइएको छ ।

खेलमैदान मासेर मञ्च

व्यास नगरपालिका–३ मा रहेको खेलमैदानमा विगतमा धेरै फुटबल प्रतियोगिता हुन्थे । दमौली अस्पताल अगाडि रहेको खेलमैदानमा हुने फुटबलको छुट्टै रौनकता हुन्थ्यो । नगरपालिकाले खेलमैदानलाई पार्क बनाउने भनेपछि यस ठाउँमा खेल हुन छाड्यो । यसको विकल्पमा नगरपालिकाले बिपी वनबाटिकालाई खेलमैदान बनाउने गरी बजेटसमेत विनियोजन गरेर काम अगाडि बढायो ।

उक्त मैदानलाई रङ्गशाला बनाउने भन्दै विनियोजित बजेटले मैदान सम्याउने र पर्खाल बनाउने काम भएको छ । १०८ फिटको ब्यासमूर्ति बन्ने भएपछि बिपी वनबाटिकाको खेलमैदान पनि के हुने भन्ने अन्योल कायमै छ । यद्यपि नगरपालिकाले बिपी वनबाटिकामा रहेको कभर्डहल पनि अन्यत्रै सारेर त्यहाँ खेलमैदान नै बनाउने जानकारी दिएको थियो । ब्यास मूर्तिलगायतका संरचना बन्ने भएपछि यहाँ दैनिक सयौंकौ सङ्ख्यामा सर्वसाधारण आउने निश्चित छ । त्यसका लागि बिपी वनबाटिकाको खेलमैदानलाई पार्किङस्थल बनाउनुपर्ने आवाज उठिरहेको छ ।

खुल्लामैदानमा खेल हुन छाडेपनि उक्त ठाउँ खेलाडीले प्रशिक्षण गर्ने थलोको रुपमा विकास भइरहेको छ । तर अब खेलाडीलाई त्यो अवसर पनि प्राप्त नहुने भएको छ । खुल्ला मैदानमा ब्यास नगरपालिकाले मञ्च बनाउने तयारी गरेको छ । त्यसका लागि मङ्गलबारबाट काम शुरु भइसकेको छ । मञ्च निर्माणका लागि खाल्डो खन्ने काम अगाडि बढेको छ ।

खेलमैदान मासेर मञ्च बनाउन लागेपछि विरोधकास्वर सुनिन थालेको छ । खेलाडी एवं रेफ्री ईन्द्र गुरुङले खेलमैदानमा मञ्च निर्माण शुरु गरिएपछि विरोध जनाउनुभएको छ । “व्यवस्थित खेलमैदानको अभावमा जसोतसो खेल सिक्दै आएका खेलाडीको एकमात्र खेल्ने मैदान पनि अब स्वाहा हुने भयो,” गुरुङले भन्नुभयो ।

खेलमैदान मासेर कङ्क्रिट संरचना निर्माण गर्ने तयारीपछि नगरवासीले विरोध जनाएका छन् । वृद्धवृद्धालाई मर्निङवाक गर्ने थलोको रुपमा रहेको यस ठाउँलाई अहिलेकै अवस्थामा राख्नुपर्ने नगरवासीको माग छ । भूकम्पको बेला खुला मैदानले दमौलीवासीलाई पु¥याएको सुविधा भुल्न हुने उनीहरुको भनाइ छ ।

नगरपालिकाले भने उक्त ठाउँमा पार्क निर्माण गर्ने तयारी गरेको बताएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले खेलमैदानमा स्मार्ट पार्क बनाउन लागिएको बताउनुभयो ।

दश वटै स्थानीय तहमा भूमि आयोगको काम शुरु

दश वटै स्थानीय तहमा भूमिसम्बन्धी समस्या पहिचानका लागि काम शुरु भएको छ । ऋषिङ गाउँपालिकामा सोमबार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि तथ्याङ्क सङ्कलन कार्यालय उद्घाटन गरिएपछि जिल्लाका दशवटै स्थानीय तहमा भूमिहीन पहिचानका लागि काम शुरु भएको हो । अन्य सबै स्थानीय तहमा यसअगाडि नै तथ्याङ्क सङ्कलन कार्यालय स्थापना गरेर काम भइरहेको छ ।

ऋषिङमा स्थापना भएको कार्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले वास्तविक सुकुम्बासीले भूमि पाउनुपर्ने जोड दिँदै अहिलेको आयोगले त्यस्ता भूमिहीनको सम्बोधन गर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले वास्तविक भूमिहीनलाई जग्गाको मालिक बनाइने बताउनुभयो । आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले जिल्लाका सबै पालिकामा भूमिहीन पहिचानका लागि तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाका सबै वडामा सङ्कलनकर्ता खटाएर भूमिहीनको विवरण सङ्कलन गरिएको बताउनुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासीले आफूले बसोबास गरेको वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहमार्फत् घरदैलोमा खटिएका लागत सङ्कलक वा सम्बन्धित वडा कार्यालयमा फारम बुझाउनुपर्नेछ ।

जिल्लाको ब्यास र शुक्लागण्डकी नगरपालिकाले भूमिहीनको तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरिसकेको छ भने अन्य स्थानीय तहमा काम भइरहेको बताइएको छ । ब्यास नगरपालिकामा ६ हजार ८७२ जनाको तथ्याङ्क सङ्कलन भएको छ । नगरपािलकाका १४ वडामा ७३० भूमिहीन दलित, ४९७ भूमिहीन सुकुम्बासी र ६ हजार १४२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको लागत सङ्कलक एकाईका प्रमुख बिमल गिरीले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिकाले चार हजार ४४२ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरेको छ । २७९ भूमिहीन दलित, ३४१ भूमिहीन सुकुम्बासी र तीन हजार ८२२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका १२ वडामा तथ्याङ्क सङ्कलनका लागि २९ जना गणक परिचालन गरिएको थियो ।

आयोगका अनुसार जिल्लाको ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकामा भूमिहीन पहिचानका लागि काम भइरहेको छ ।

जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भइसकेको छ । सरकारले आयोगको अध्यक्षमा दधिराज सुवेदी, विज्ञ सदस्यमा दीर्घबहादुर दरै र सदस्यमा शान्ति कुँवरलाई नियुक्त गरेको थियो ।

आयोगको पदेन सदस्यमा डिभिजन वन कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रमुख रहने व्यवस्था छ भने आयोगको सदस्य सचिवमा जिल्ला समन्वय अधिकारी रहने व्यवस्था छ । स्थानीय तहले सङ्कलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझपछि वास्तविक भूमिहीन भएको प्रमाणित भएमा लालपूर्जा वितरण गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !