काठमाडौँ । महेश संस्कृत गुरुकुलका संस्थापक डा. रामानन्द गिरिले अनुवाद गर्नुभएको अध्यात्म रामायण रामानन्दी टीकाको लोकार्पण गरिएको छ । महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर भगवान्को पन्ध्रौँ वार्षिकोत्सवको अवसर पारेर आज देवघाटमा आयोजित अनुष्ठानमूलक कार्यक्रममा डा. स्वामी रामानन्द गिरीद्वारा लेखिएको नेपाली व्याख्यासहितको अध्यात्मरामायणको महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिले लोकार्पण गर्नुभएको हो ।
गुरुकुलको २६ औँ ग्रन्थमालाको रूपमा अध्यात्म रामायणको लोकार्पण भएको थियो । पुस्तक लोकार्पण गर्दै पीठाधीश गिरिले मानवजीवनमा राम शब्दको आदिमध्ये र अन्त्य सबै अवस्थामा विशेष महत्व रहेको उल्लेख गर्नुहुँदै अध्यात्म रामायणको पदार्थ, भावार्थ र विवरणसहित यति विस्तृत व्याख्या भएको ग्रन्थ अन्य कुनै पनि भाषामा आजसम्म प्रकाशित नभएको बताउनुभयो ।
कार्यक्रममा संस्कृतभाषाबाट आफ्नो सम्बोधन गर्दै गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीले विद्यातत्वबारे प्रकाश पार्नुभयो । शिव र सरस्वतीमा दाजुबहिनीको सम्बन्ध रहेको बताउनुहुँदै उहाँले सम्पूर्ण विद्याका प्रदाता भगवान् विद्येश्वर हो भन्नुभयो । कार्यक्रमका वक्ताले डा स्वामी रामानन्द गिरिको जीवन विद्याकै क्षेत्रमा समर्पित भएकाले उहाँलाई विद्येश्वर भगवान्को स्थापना गर्न प्रेरणा मिलेको बताउनुभयो ।
गुरुकुलले प्रकाशन गरेको पुस्तक एक हजार ५६ पृष्ठको छ । संस्कृतमा वेदव्यासले रचना गर्नुभएको अध्यात्म रामायणको पद पदको नेपाली अनुवाद गरिएको यो पहिलो पुस्तक हो । पुस्तकका प्रधानसम्पादकसमेत रहनुभएका डा रामानन्दका उत्तराधिकारी स्वामी रमणानन्द आधुनिक कुनै पनि भाषामा अध्यात्म रामायणको विस्तृत व्याख्या गरिएको पुस्तक प्रकाशन नभएको बताउनुहुन्छ ।
अध्यात्म रामायण भक्तिमय भएकाले धेरै भाषाका अनुवादकले पछ्याएका छन् । रामजीवनका घटना हरेक व्यक्तिभित्र भइरहेका गतिविधिका रुपमा पुस्तकमा चित्रण गरिएको छ । नेपालमा भगवान् रामका विषयमा विभिन्न खोजी भइरहेका बेला राम साहित्यका विषयमा जानकारी लिन पुस्तक उपयोगी हुने विश्वास गरिएको छ । पुस्तकको मूल्य रु दुई सय तोकिएको छ ।
डा स्वामी रामानन्द गिरीका यसअघि श्रीमद्भागवतलगायत ग्रन्थमा रामानन्दी टीका प्रकाशन गरिसक्नुभएको छ । गुरुकुलका छात्र, गुरुकुलका सञ्चालक, व्यवस्थापक, दाता, शुभचिन्तकलगायत विभिन्न व्यक्तित्वको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा सरस्वतीपूजन एवं उपासनाका विधिसमेत प्रस्तुत गरिएको थियो ।