८ बैशाख २०८१, शनिबार

कविता – चुरोटको धुवाँसंगै सकिएको जवानी


रामचन्द्र तिम्सिना

“धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ”
पढ्छ खिस्स हाँस्छ
अरुलाई पनि सुनाउँछ उसले
मानौं उपहास गर्दैछ शब्दको
अनि सल्काउँछ चुरोट तन्तनि
हरेक सर्कोको धुवाँसंगै
उडाउँछ बुङ्गबुङ खरानी ।
छोटिदैछ आफ्नो जीवनको आयु
छोटिदैछ चुरोटको लम्बाई
अनि फेरिदैछ जीवनको कहानी ।

सुरा र सुन्दरीको छेउमा
भर्खर जुंगाको रेखी बस्दै गरेको ओठले च्याप्दै
हातले समाउँदै
औंलाले मुसार्दै
फुसफुस धुवाँको फोका उडाउँथ्यो र
आफ्नो शान झार्थ्यो ।

बारीको कुना
घरको कर्सा
स्कुलको ट्याईलेट र
गाउँको गल्लिमा फुक्थ्यो धुवाँ
अनि गर्व गर्थ्यो आफुलाई ।

शिक्षकको आँखा छलेकोमा महान सोच्थ्यो आफैलाई
बाबुको नजरबाट बचेकोमा बहादुर सम्झिन्थ्यो उसले
आमाको ममतालाई छक्याएकोमा चलाख मान्थ्यो उ ।
साथीसंगीको भिडमा धुँवा उडाएकोमा गर्व गर्थ्यो आफुलाई ।

तर दिन फेरियो
संधै एकनास कहाँ हुन्छ र साथी ।

सौखका लागि पिउँदै गर्दा
आज उ सौखिन भयो।
नियमित प्रक्रियाले
रहर नशामा परिणत बन्यो ।
रंगिन जीवन बिरंगी भयो
स्वस्थ शरिरमा खिया लाग्यो
टिबी , क्यान्सर, खोकी
के-के हो के-के रोगको नाम पनि
थलिदै र गलिदै जाँदा थाहा भयो ।

हिजो आज एक टङ्कार खोक्दैछ उसले
अनुहार निलो र मलिन भएको छ उसको ।
श्रीमती रुँदैछिन एकातिर
छोराछोरी न्याउरिएका छन् अर्कातिर ।
मैले खल्तिबाट चुरोटको बट्टा निकालेर सोधेँ
के लेखिएको छ भाई यहाँ ?
बोल्न सकेन उस्ले आँसु मात्रै झारिरह्यो
लाग्दै थियो
ग्लानी बोध गर्दै थियो
धिकार्दै थियो आफुलाई
अनायासै
साश बढ्दै गयो
उस्को प्राण पखेरु उढ्दै गर्दा मैले पढेर सुनाई दिए
“धूम्रपान स्वास्थका लागि हानिकारक छ”– ।

रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ-५ सामरी, नुवाकोट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !