७ बैशाख २०८१, शुक्रबार

कविता – के छैन र यहाँ ?


रामचन्द्र तिम्सिना

घुसखोर चाहिए थुप्रै कर्मचारीहरु छन् ।
दलाल चाहिए नेता भन्नेहरु छन् ।
झुटको पहाड बनाउन सक्षम पत्रकारहरु छन् ।
बिदेशी जासुस हरेक पार्टीमा छन् ।
के छैन र यहाँ ?
जसले जे गरेपनि चुप लाग्ने सारा नेपाली छन् ।

घर अगाडिको सडक धूलोले लिपिएको छ,
खाल्टाले बाटो भरिएको छ ।
भ्रष्टाचार संस्थागत बनेको छ ।
अपराधी टोलटोलमा घुमेका छन् ।
तस्कर गाउँगाउँमा छरिएका छन् ।
के छैन र यहाँ ?
दुई जनाको पार्टी आफै कार्यकर्ता आफै अध्यक्ष छन् ।

देशका युवाहरुको बिमानस्थलमा लामो ताँती छ,
किसानहरु मल पाउन लाईनमा छन्
पढेलेखेका बेरोजगार छन् ।
विद्याको पबित्र मन्दिरमा गुण्डागर्दी ब्याप्त छ ।
के छैन र यहाँ ?
वकिल पार्टी कै छ, पत्रकार पार्टी कै छ ।

ब्याचलर गरेको बिद्यार्थी बेरोजगार छ
उखु किसान सडकमा छ
संसद भवनमा कुर्सी तानातान छ
जातिय विभेद र वर्गीय विभेद हानाहान छ
के छैन र यहाँ ?
नेतालाई खोकी लागे सिङ्गापुर् छ
जनतालाई रोग लागे एक गोली सिटामोल मात्र छ ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !