९ पुस २०८१, मंगलबार

कविता – खरानी राष्ट्रवाद


रामचन्द्र तिम्सिना

चाहे मन्दिरमा दियो बाल्नुस् चाहे घाटमा लाश पोल्नुस्
चाहे यज्ञमा चरु होम्नुस् चाहे
चुलोमा दाउरा बाल्नुस चाहे सडकमा टायर बाल्नुस्
लाखबत्ती बाल्नुस कि दागबत्ती दिनुस्,
निस्कने उहीँ धुवाँ र खरानी मात्रै हो ।

त्यस्तै

रिसले घरमा आगो झोस्नुस् कि मन्दिरमा
आक्रोशले स्वास्निको फरिया पोल्नुस कि देशको झण्डा
आवेशमा आफ्नै पैसा जलाउनुस् कि अरुको
झुम्रो पोल्नुस् कि झुप्रो
निस्कने उहीँ धुवाँ र खरानी मात्रै हो ।

जब-जब मान्छे निरीह सोच र निरर्थक विचारबाट कुण्ठित हुन्छ तब तब सबै थोक खरानी हुन्छ ।
लहरमा होस वा लहडमा अबुझ चेतले सब थोक खरानी हुन्छ ।
चाहे त्यो राजनीतिक परिवर्तनका नाममा तोडिएका र फोरिएका भग्नावेश नै किन नहुन् ।

प्रजातन्त्र, बहुदल र गणतन्त्र
नेता, नेतृत्व र नेतृ
मन्त्री, कर्मचारी र हाकिम
शैली, पद्धति र विधि

जहाँ पनि राष्ट्र र राष्ट्रियताका लागि राष्ट्रिय सम्पत्ति खरानी भएका छन् ।

चाहे बिदेशीको ईशारामा होस्
चाहे स्वदेशीको ।
सम्पत्ति हाम्रै खरानी भएका छन् ।

चेतौं बुझौं र सबैले एकै स्वरमा भनौं
खरानी राष्ट्रवाद मुर्दावाद ।

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !