८ बैशाख २०८१, शनिबार

छि कस्तो समाज


रामचन्द्र तिम्सिना

लाम्टो चुसाई हुर्काई दिने
कसैकी आमा हुन ती ।
सगुन खुवाई बिदाई दिने
कसैकी दिदी हुन ती ।
टीका लगाई आशीर्वाद दिने
कसैकी बहिनी हुन ती ।
छिद्रबाट हवास मात्रै चिहाई रहने
“छि कस्तो समाज”….।

कामुक छिन तिनी
यो होईन कि दिउँसै नाङ्गिउन
कातर छिन तिनी
यो होईन कि दिउँसै आत्मसमर्पण गरून्
लाचार छिन तिनी
यो होईन कि मजबुरिको फाईदा लिउन ।

स्वर्ग, मर्त्य, पताल
देव, दैत्य, ॠषी
जल, थल, अग्नि
जुन रूपमा हेर
जुन सोचले हेर
जगत पनि तिनै
जननी पनि तिनै
सृष्टि पनि तिनै
संहार पनि तिनै
चोलिको तुना र
पेटिकोटको इजारमा मात्रै अल्झिएको तिम्रो नजर
“छि कस्तो समाज”……।

बालापनमा ममताले चुस्न
जवानीमा हवासले च्याप्न
बुढ्यौलीमा मायाले चुम्न
जीवन, मृत्यु र सृष्टि त्यही छ
वक्षस्थलमा मात्रै ठोक्किएको तिम्रो नजर
“छि कस्तो समाज”……।

ममतामयी नजरले
हेर्ने पनि छन् कोहि
प्रेमिल मजेत्रोले
बेर्ने पनि छन् कोहि
सतगतिमा सेतो कात्रोले
बेर्ने पनि छन् कोहि
छिद्रबाट हवास मात्र चिहाउने
“छि कस्तो समाज”……।

फुटपाथेले बेच्न राखेको
काँचो मासुको थुप्रो मात्र होईन
ताँदोमा सुलि चढाउन राखेको
अपराधिको जमात पनि होईन
प्यास, ज्वाला, खरानी सबै त्यहीँ छ
नारी उपभोगको साधन मात्र होईन
प्रकृतिको नियम पनि बुझ
चोलिको तुना र पेटिकोटको इजारमा अल्झेको तिम्रो नजर
“छि कस्तो समाज”……।
“छि कस्तो समाज”……।

रामचन्द्र तिम्सिना
( आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !