५ मंसिर २०८१, बुधबार

सबैलाई आ-आफ्नै चिन्ता कसैलाई छैन देशको चिन्ता


रामचन्द्र तिम्सिना

हिजो भुकम्प र नाकाबन्दीको आज कोरोना ।
हिजो समाजवादको चिन्ता आज साम्यवादको चिन्ता ।

सरकारलाई कुर्सी बचाउने चिन्ता ।
नेतालाई कुर्सी हत्याउने चिन्ता ।
बामदेबलाई प्रधानमन्त्री नहुने होकी भन्ने चिन्ता ।
माकुनेलाई अध्यक्ष हुन्न कि भन्ने चिन्ता ।
प्रचण्डलाई लडाकुको रासन पच्दैन कि भन्ने चिन्ता ।
शेर बहादुरलाई फेरि प्रधानमन्त्री पड्काउन पाउदिन कि भन्ने चिन्ता ।
च्याँखे थापेर बसेका दल र दलाललाई सरकारमा जाने चिन्ता ।
पुर्व राजालाई यहि भंगालोमा जाल थाप्ने चिन्ता ।
आसेपासे र हनुमानहरुलाई छाक टार्ने चिन्ता ।

तर देशको चिन्ता यहाँ कसैले गरेनन् ।
महामारीसंग जुध्न कसैको पहल भएन ।
जनताको जीउ-धनको चिन्ता कसैले गरेनन् ।
गर्यो त केवल कमिसन, कुर्सी, पद, सत्ता र सम्पत्तीको ।

कर्मचारीलाई तलब र भत्ताको चिन्ता ।
व्यापारीलाई व्यापारको चिन्ता ।
बिदेशिएकालाई स्वदेश फर्किने चिन्ता ।
फर्किएकालाई अब के गर्ने भन्ने चिन्ता ।
छोरी-चेलीलाई हवासका शिकारीको चिन्ता ।
सर्वसाधारणलाई दैनिकीको चिन्ता ।

गरीबलाई दुई छाक टार्ने चिन्ता ।
धनिलाई भिन्न भिन्न परिकार बनाएर फेसबुकमा पोस्ट्याउने चिन्ता ।

मन्त्रीलाई कमिसनको चिन्ता ।
युवा पुस्ता भनाउँदालाई नेतृत्वमा आउने चिन्ता ।

कसैलाई देखिने चिन्ता कसैलाई देखाउने चिन्ता ।
कसैलाई आहारको चिन्ता कसैलाई स्याहारको चिन्ता ।
हजुरबुबालाई भत्ताको चिन्ता नातिलाई भर्तिको चिन्ता ।

चिन्ता पनि कति ठूलो, मन्त्रीलाई महामारीसँग जुध्न “नक्कली” समान भित्र्याएर “सक्कली” कमिसन खाने चिन्ता ।

घुर्क्याएको भरमा मन्त्री पड्काउने देश हो यो ।
कैले भुकम्पको नाउँमा त कैले कोरोनाको नाउँमा कात्रोमा कमिसन खोज्ने देश हो यो ।

महाकाली होस् या कोशी कर्णाली, बिप्पा होस वा इण्डो-प्यासिफिक, राष्ट्रघाती सन्धि-सम्झौता गरेर राष्ट्रवादी कहलिने देश हो यो ।

अपराधीलाई किनेर होस वा अपहरण गरेर, प्राडो-पजेरो बाँडेर होस् वा बिदेश सयर गराएर होस्,
सत्ता र शक्ति हत्याउने देश हो यो ।

अनि

कोरोनाको महामारी होस् या भुकम्प जस्तो महाप्रलय…
कोष खडा गर्ने, रकम जम्मा गर्ने, आयोग र नियोगमा आफन्त, इष्टमित्र, सम्धी-सम्धिनी ठुस्ने, आयोग बनाउने अनि कोषको रकम बाँडीचुँडी पचाउने देश हो यो ।

अरबौको भ्रष्टचार गर्ने, आयोग बनाउने अनि बन्द गर्ने देश हो यो ।
यस्तै हुदैछ र यसरी नै चल्छ यहाँ ।

मेरो दल र मेरो सिद्धान्त भन्दै,
मेरो नेता जिन्दावाद,
तेरो नेता मुर्दावाद भन्दै भट्टिमा फुइँ देखाउने पटमुर्खहरुको जमात भयौं हामी नेपाली ।

अनि

हामी नाकावन्दी लगाउनेलाई पनि आदर्श मान्छौ, इण्डो- प्यासिफिक गर्नेलाई र
लाउडालाई पनि पचाउँछौ अनि वाइडबडीलाई पनि ।
लोकमानलाई पनि आदर्श मान्छौ, गोपाल खड्कालाई पनि वा चुडामणि होस्,
आयल निगमको जग्गा होस् वा गुठीको, हामी सबै बिर्सिन्छौ ।

किनकी तपाईं एउटा दलको हनुमान हो,
म अर्कै दलको झोले ।
मेरो नेताले गरेको सबै सहि तपाईंको गलत ।

आमूल परिवर्तनको लागि अब अर्को क्रान्तिको, अर्को अभियानको खाँचो छ ।
दुई-चार सीमित बर्गको उत्थान हुदैमा परिवर्तन पक्कै भएको छैन् ।
साधारण जनता आज पनि आश मै छन् ! तर जनताको अवसर र आशा कसैले संम्बोधन समेत गर्न सकेनन् ।

शिक्षा र स्वास्थ बेचिएको छ ।
पानी र बिजुलीलाई दुहुनो गाई बनाईएको छ ।
जनताको आधारभुत आवश्यकतालाई लत्त्याउदै युवालाई खाडी बेचिदै छ ।
स्वदेशि उत्पादनलाई निरुत्साहित गर्दै बिदेशी आयातलाई बढावा दिईएको छ ।

अझै हामी कुन नयाँ नेपालको कल्पना गर्दैछौ ?

राजनीतिक दलहरु एक अर्काको चौकीदारी मै व्यस्त छन,
नेता र कर्मचारी कमिसन मै मस्त छन !
न्यायलय बिकाउ भएको छ, कानून निरीह बनेको छ ।

अझै हामी मेरो नेता भन्न मै अभ्यस्त छौ ।
जबसम्म इमान्दार शाशक आउदैन,
देश झनै भड्खालोमा जाने निश्चित छ ।

जागौं युवा जागौं !!
कम्मर कसेर लागौं !!

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !