‘ढुंगा ढुंगामा देवताको बास’ हुने
माटोमा
जन्मिएका जनक, बुद्ध र सीताका
अतृप्त आत्माहरु,
स्वर्ग नजिक सगरमाथाको टुप्पोबाट
हेरिरहेछन् आफ्नो जन्मभूमिमा
प्रत्येक भैरहने रंगकर्म:
उडिरहने धुवां,
मरिरहने मान्छे,
भाँडिरहने नेता,
उकासिरहने छिमेकी,
पसिना बगाएर पनि खान नपाउने
जनता,
अस्थिपञ्जरमाथि उभिएको
दरबारमा धृतराश्ट्र शासक,
अभावको करुण संगीत,
ओइलाइरहेका शिशु-स्वप्नहरू,
आफ्नी आमाको छातीमाथि नै
नाङ्गो नृत्य….
अलि पर्तिर देखिरहेछन् :
सौदागरहरु एउटा अँध्यारो कुनामा
दिएर कुटिल मुस्कान
निमुखा जनताको आँखामा पर्दा
लगाउँदै
गरिरहेछन्–
माटोको लिलामी
ढलाउँदैछन् आस्थाका धरोहर |