डोटी, २८ वैशाख । जिल्लाका विभिन्न ठाउँमा शनिबार राति परेको असिनापानीले लाखौँको खेतीबाली तथा तरकारी नष्ट गरेको छ । पाकेको बालीलाई नोक्सान गरेपछि किसानमा भोकमरी हुने चिन्ता छाएको छ ।
जिल्लाका आदर्श, जोरायल, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, बडिकेदार गाउँपालिका, दिपायल सिलगढी र शिखर नगरपालिकाका विभिन्न वडामा पाकेर भित्र्याउनै लागेको लाखौँको खेतीबाली नष्ट गरेको स्थानीयवासीले जानकारी दिएका छन् । गहुँ, जौ, तोरीलगायत हिउँदेबाली असिनाले चुटेर नष्ट गरेपछि किसान निरास भएको जोरायल गाउँपालिका–३ का सन्तोष अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाकेर भित्र्ययाउने अवस्थामा रहेको हिउँदै बाली असिनाले चुटेर नष्ट गरेको छ, भोकमरी हुनसक्ने भन्दै स्थानीयवासीमा चिन्ता छाएको छ ।”
यहाँका ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेको जानकारी आएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । यसअघि पनि यही वैशाख २ गते जिल्लाको जोरायल, सायल र पूर्वीचौकी गाउँपालिकाको अल्याडी, गडाखर्क, भल्मा, झिग्राना, बग्लेक क्षेत्रमा परेको असिनापानीले खेतीबाली र भौतिक संरचनामा समेत क्षति गरेको थियो ।
त्यसैगरी वर्षा र असिनापछि जोरायलको सैगडीगाड र सेरापुलको गाडमा बाढी समेत आएपछि जोरायग गड्सेरा तथा बिपीनगर गड्सेरा जोड्ने सडकसमेत अवरुद्ध भएको जोरयाल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदेबाली भित्र्याउने समयमा पटक–पटक परेको असिनाले गहुँ, जौलगायत तरकारी नष्ट गरेको छ, ठूलो वर्षाद्ले सडकसमेत अवरुद्ध भएका छन्, समस्या भएको छ ।”
केही दिनयता मौसममा आएको खराबीका कारण जिल्लाका किसानलाई बाँकी रहेको गहुँबाली भित्र्याउन निकै समस्या भएको छ । केही सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश किसानलाई पाकिसकेको अन्नबाली भित्र्याउन समस्या भएको सायल गाउँपालिका–१ का स्थानीय हरिबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “लगातार वर्षा र पानी परिरहेको छ, हिउँदे बाली काट्नै पाएका छैनौँ, समयमै नकाटे बाँकी रहेको बाली पनि असिनाले सखाप गर्ने छ ।” जिल्लाका सबै भूभागमा खेतीपाती भित्र्याउने क्रम चलिरहेको बेला वर्षाका कारण समस्या भएको र एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले पाकेको गहुँ काट्न समस्या भएको शिखर नगरपालिका–१ गुठेउडीका किसान लक्ष्मण ऐरले जानकारी दिनुभयो ।
उहाँका अनुसार लगातारको वर्षाका कारण घरभित्रै सड्ने अवस्थामा पुगेको छ । यो वर्ष बढी पानी परेका कारण गहुँ उत्पादन पनि घट्ने जिल्ला कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ । गत वर्ष जिल्लाभरिमा कूल २९ हजार मेट्रिक टन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ । जिल्लामा कूल १९ हजार ४०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ ।
लगातारको वर्षा र असिनाले डोटीसहित सुदूरपश्चिमका पहाडी जिल्ला, बैतडी, दार्चुला, बझाङ, अछाम, बजुरा र डडेल्धुरामा अन्नबाली भित्र्याउन किसानलाई निकै समस्या भएको छ । केही दिनदेखि पाकेको गहुँबाली काट्ने चटारो परेको भए पनि वर्षा हुन थालेपछि अन्नबाली भित्र्याउन समस्या भएको दिपायल सिलगढी नगरपालिका स्वाँणाका स्थानीय डम्मरबहादुर साउदले जानकारी दिनुभयो । केही दिनअगाडि परेको असिनापानीले गहुँबालीमा क्षति पु¥याएको भए पनि बाँकी रहेको गहुँसमेत भित्र्याउन नपाएको किसानले बताएका छन् । यहाँका पहाडी जिल्लाका किसानलाई वर्षा र असिनाले खेतीपाती भित्र्याउन बाधक बनेको हो ।