१६ जेष्ठ २०८१, बुधबार

व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी


केराखेती

वालिङ, २६ वैशाख । दुई दशक खाडीमुलुकमा रोजगारी गरी स्वदेश फर्कनुभएका स्याङ्जा चापाकोट–९ सुन्तलीटारका रामु बस्यालले व्यावसायिक रुपमा केराखेती गर्नुभएको छ ।

झण्डै तीन वर्षअघि विदेशबाट फर्कनुभएका उहाँले साढे दुई वर्षअघिदेखि ‘मैदाने बहुउद्देश्यीय कृषि फार्म’मार्फत व्यावसायिकरुपमा केराखेती थाल्नुभएको हो । “छ रोपनी क्षेत्रफलमा पहिलो चरणमा ६०० वटा केराका बोट लगाएको छु” उहाँले भन्नुभयो, “मसँग २६ रोपनीको खेत छ । सबैमा केरा लगाउने तयारीमा पनि छु ।”

उहाँले फार्ममा ‘झापाली शालिग्राम’ र ‘टिशुकल्चर जी नाइन’ गरी दुई जातका झण्डै तीन÷तीन सय केराका बिरुवा लगाएको छ । “झण्डै साढे दुई वर्षअघि रोपेको बिरुवाले अहिले उत्पादन दिन थालेको छ” उहाँले भन्नुभयो, “अहिलेसम्म उत्पादन भएको केरा स्थानीय चापाकोट बजारमै बिक्री हुने गरेकाले बजारको समस्या छैन यही खपत भइरहेको छ ।”

धान हुने खेत मासेर केराखेती लगाउँदा धान मासियो यो नहुने खेलो किन गरेको होला भन्ने गाउँलेहरु अहिले केराखेतीबाट आम्दानी हुन थालेपछि फरक सोच बनाउनुभएको बस्यालको भनाइ छ । “धान उत्पादनभन्दा केराखेतीबाट तीन गुणा बढी फाइदा हुने मैले अनुभव गरेको छु”, उहाँले भन्नुभयो, “अब अहिले धानखेती भइरहेको २० रोपनीमा पनि क्रमशः केराखेती विस्तार गर्ने योजनामा रहेको छु ।”

दुई दशक विदेशी भूमिमा पसिना बगाउनुभएका बस्यालले स्वदेशमा फर्केपछि थाल्नुभएको केराखेती सफलतातर्फ उन्मुख भएसँगै पहिलेदेखि नै स्वदेश फर्केर गर्नुपर्नेमा ढिलो भएकामा दुखेसो पोख्नुभयो । “म धेरै लामो समय विदेशी भूमिमा रोजगारी गरे, विदेशमै पनि मेरो राम्रो काम थियो तर अब स्वदेश फर्केर उहीँ केही गर्नुपर्छ भन्ने लागेर फर्किएँ र केराखेती थालेँ”, उहाँले भनुभयो, “काम गर्न चाहनेलाई स्वदेशमै थुप्रै सम्भावना छ ।”

साढे दुई वर्षअघि जग्गा सम्याउने, केराको बिरुवा खरिद, मल खरिदजस्ता कार्यका लागि रु १० लाख खर्च लागेको बस्यालले बताउनुभयो । अहिले धेरै उत्पादन नभएकाले पनि नजिकैको स्थानीय चापाकोट बजारमै केरा बिक्री हुने गरेको छ । चापाकोट बजारमै खपत नभएमा नजिकैको अन्य बजारमा लैजाने गरी तयारी भइरहेको उहाँको भनाइ छ ।

“यहाँ उत्पादन भएको केरा लिनका लागि अहिले ग्राहक घरमै आउने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “ढिलै भए पनि राम्रो व्यवसाय थालेको रहेछु । मैले थालेको पेशाबाट म पूर्णरुपमा सन्तुष्ट पनि छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !