९ जेष्ठ २०८१, बुधबार

लकडाउनमा कृषि उद्यमी दम्पतीको दैनिकी : कृषकदेखि उपभोक्तासम्म


tarkari

चिप्लेढुङ्गा, ७ वैशाख । पोखराका कृषि उद्यमी उषा पौडेल र तुलसी गिरीको दैनिकी लकडाउन शुरु भएदेखि निकै व्यस्त बनेको छ । कोरोना रोकथामका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरे पछि बिहान कृषकका बारीमा पुग्नु र तरकारी खरिद गर्नु, अनि उपभोक्ताको घर घरमा ताजा तरकारी पु¥याउनु उहाँहरुले पछिल्लो दैनिकी हो । व्यस्त दैनिकीसँग उहाँहरु उत्तिकै सन्तुष्ट पनि देखिनुहुन्छ ।

एक दशकदेखि कृषिकर्मसँग जोडिएका पौडेल दम्पतीेले उत्पादनको वास्तविक मूल्य नपाएको किसानको गुनासो सुनेपछि चार वर्षअघिदेखि किसान बजार (फामर्स मार्केट) सञ्चालन गर्दै आएका छन् । हप्तामा दुई दिन बुधबार र शनिबार किसान बजारमार्फत कृषकहरु आफैँले ताजा तरकारी उपभोक्तालाई बेच्दै आएका छन् भने कृषक यसबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

अहिले लकडाउनका कारण किसानबजार बन्द छ । प्रविधिको प्रयोग गर्दै अहिले अनलाइन अर्डरका आधारमा किसानको तरकारी उपभोक्तासम्म पु¥याउने कार्यमा उहाँहरु जुट्नुभएको छ । किसानसँग प्रत्यक्ष सम्पर्क गर्ने, सम्भव भएसम्म आफैँ बारीमा पुगेर उत्पादित तरकारी खरिद गर्ने गरेको गिरीले बताउनुभयो । “दैनिक खेतीफुड डटकमको अनलाइनमा उपभोक्ताको अर्डर हेर्छौं र त्यही अर्डरअनुसार किसानसँग सम्पर्क गरेर तरकारी खरिद गर्छौँ”, गिरीले भन्नुभयो, “हाल चिस्यान केन्द्र नभएकाले आवश्यकतालाई ध्यान दिएर खरिद गर्ने गरेका छौँ”, उहाँले पोखरा आसपासका ठाउँबाट तरकारी र अन्य सप्लायर्सबाट फलफूल खरिद गरेर उपभोक्तामाझ पु¥याउँदै आएका बताउनुभयो ।

कोरोना सङ्क्रमणबाट जोगिन आवश्यक स्वास्थ्य सामग्रीको प्रयोगसँगै भौतिक दूरी कायम राख्दै बिक्री वितरण गरिएको र नगदभन्दा पनि इ–पेमेन्टलाई बढी प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो । गिरी ग्लोबल फुड नेटवर्कका बोर्ड सदस्य हुनुहुन्छ । नेटवर्कमा ७२ वटा देशका सदस्य छन् । त्यसैगरी पौडेलले बजार कृषि सहकारी संस्थाको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

आफूहरुले व्यवसायमात्र नभई किसानका पक्षबाट सोचेर अनलाइन तरकारी व्यवसायलाई जोड दिएको पौडेल बताउनुहुन्छ । “यो सङ्क्रमणको अवस्थामा किसान झन् मर्कामा पर्ने देखिन्छ, किसानले उत्पादन गरेको सबै खरिद गर्न हामीले सकेका छैनौँ, ढुवानीका लागि एउटा मात्रै गाडी छ, अहिले हामीले जे जति गरका छौँ यसबाट कृषकलाई केही राहत भएको र उपभोक्तालाई सहज भएको महसुस गरेका छौँ”, पौडेलले भन्नुभयो, “अघिपछि ३० भन्दा बढी कर्मचारी हुनुहुन्छ तर अहिले व्यवस्थापकीय जिम्मेवारीका चार पाँचजना साथी मात्र संलग्न छौँ, तरकारी ल्याएर ग्रेडिङ, प्याकेजिङ र लेवलिङ लगाएर मात्र बजार पु¥याउँछौँ ।”

उहाँका अनुसार पोखरासँगै काठमाडौँ पनि खेतिफुुड डटकमले यसरी तरकारी बेच्दै आएको छ । पाल्पा, मकवानपुर, चितवा, पोखरा र काठमाडौँ गरी पाँच ठाउँमा खेती फार्म सञ्चालित छ । कृषकसँग खरिद दरमा ३० प्रतिशत नाफा राखेर बेच्ने गरिन्छ । खेरजाने, ढुवानीदेखि सबै कुरा समावेश गरिएको छ । पोखरा आसपासमा तरकारी पु¥याएवापत रु ७० ढुवानी खर्च जोडिन्छ ।

अहिलेको विषम परिस्थितिमा पनि बारीमै आएर तरकारी खरिद गरिदिँदा केही राहत भएको कृषक इन्द्रलाल जैसी बताउनुहुन्छ । “पोखरा २७ रिठेपानीमा करिब १० रोपनी जग्गामा तरकारी लगाएको छु, उत्पादित सबै तरकारीले बजार नपाए पनि, उहाँहरुले अलिअलि खरिद गरिदिँदा राहत भएको छ ।” जैसीले होटलहरु बन्द हुँदा उत्पादित तरकारीलाई पोखरा चाउथेको चिस्यान केन्द्रमा लगेर राखिएको जानकारी दिनुभयो । उहाँले साग, बन्दा, छ्यापी, रातो बन्दालगायत तरकारी उत्पादन गर्दै आउनुभएको छ ।

अनलाइनमा तरकारी एवंं फलफूलको दैनिक मूल्य राखिएको हुन्छ । आवश्यक पर्ने उपभोक्ताले अनलाइबाट अर्डर गर्छन् । पोखरा–१७ बिरौटाका विजय ढकाल लकडाउन जारी भएपछि सधैँ अनलाइनमार्फत तरकारी अर्डर गरिँदै आएको बताउनुभयो । “धेरै सजिलो भएको छ, यो जोखिम अवस्थामा तरकारी किन्न जानुभन्दा अनलाइनबाट अर्डर गरेर एकदम ताजा तरकारी सुपथ मूल्यमा पाएका छौंँ, सजिलो भएको छ ।” समय परिवेशअनुसार प्रविधिमैत्री हुन सके जोखिम कम हुने उहाँको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !