१४ बैशाख २०८१, शुक्रबार

जलजलामा फुजी स्याउको बगैँचा स्थापना


खलङ्गा,२६ वैशाख । जुम्लाको गुठिचौर गाउँपालिका – ५ काडाखोला जलजलामा फुजि स्याउ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो ।

कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले फुजि स्याउको विरुवा रोपेर बगैँचा शुभारम्भ गर्नुभयो । उहाँ भन्नुभयो ,“ लकडाउनको समयमा बगैँचामै नआउनु पर्ने हो । डाक्टरले बिरामीलाई छोड्न सक्दैन् कृषि सचिवले किसान छोड्न सकेन । बगैँचामै पुगेर किसानलाई हौसला दिनु दायित्व ठाने ।”बगैँचामा एकैपटक ३० हजार विरुवा रोपिएको हो ।

स्याउको प्रशोधन, बजारीकरण, कृषि सडक लगायतका प्राविधिक सहयोग गर्न सक्ने उहाँले जानकारी दिनुभयो । एग्रो फार्मका सहजकर्ता दानबहादुर बुढाले भन्नुभयो ,“ यो बगैँचा स्थापनाको कामले पूर्णता पाएसंगै केही आशाका किरण पलाएको छ । ” उहाँले बगैँचामा विरुवा रोप्नुअघि बगैँचाको आकार प्रकार तयार भएको , ८७ जनाले जग्गा भाडामा दिएको र एक लाख ५० हजार बर्गमिटर जग्गामा पूर्वाधारसहितको बगैँचा निर्माण गरिएको जानकारी दिनुभयो । बगैँचा स्थापनाको लागि झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । उहाँका अनुसार एक दिनमा २५० कामदारले रोजगार पाउनुका साथै एक आयोजना प्रमुख, दुई लेखापाल, एक ओभरसियर , दुई स्टोर किपर , १२ हेल्पर , चार जेटिए र चार चौकीदार राखिएको छ । दुई सहजकर्ता, तीन चालक र तीन सहचालक राखिएको छ ।

गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि स्थानीय खुशी छन् । उनीहरुले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने जनाएका छन् । लगानीकर्ता भण्डारीले जडिबुटी ब्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउदा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो ,“ यो स्याउ बगैँचामा अर्गानिक मलको प्रयोग हुनेछ । २३ लाख रुपैयाँमा मल खरिद गरेर विरुवामा राखिएको छ । ” स्याउ खेती गरेर कृषि कर्मको एक परिचय दिने लक्ष्य रहेको भण्डारीले भन्नुभयो ,“ बगैँचाबाट हुने आम्दानी शिक्षा, स्वास्थ्यसंगै सामाजिक कार्य र पारिवारिक समृद्धिमा लगाउँछु ।
यो बगैँचालाई नमुना बगैँचा बनाइराख्न पनि सदैव तत्परहेको सो फर्मका संचालक भण्डारीले बताउनुभयो । “ सो स्याउ बगैँचा कृषि स्रोत केन्द्रका रुपमा स्थापित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरणा परियोजना कार्यनयन इकाईका प्रमुख नमराज भण्डारीले जानकारी दिनुभयो । जिल्लामा झण्डै ३ हजार ४ सय ५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समयमा जिल्लाका किसान फुजि जातको स्याउ व्यवसायिक खेतीमा आकर्षण भएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !