
काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभामा बैठक बिरोध गरेका छन् ।
भर्खरै सुरु भएको प्रतिनिधिसभा बैठकमा कुलमानलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा विरोध गरेका हुन् । विपक्षी दलको तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेत बोलिरहेका छन् ।
सिंहदरबारमा आज बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सन्तोष परियारले जानकारी दिएका थिए ।
परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने बताए । आज बसेको विपक्षी दलहरुको बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गरेको थियो ।