८ बैशाख २०८३, मंगलबार

सुशासन र विकास पक्षमा कलम चलाउनुपर्ने : अर्थमन्त्री डा खतिवडा


yuvaraj khativada

२१ मङ्सिर, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ ।”

अर्थमन्त्री डा खतिवडाले सरकारले गरेका कतिपय कामलाई पत्रकारिताले हुबहु नभएर आलोचनात्मक टिप्पणी गरेर सहयोग गर्नुपर्नेमा जोड दिदैं सरकारका कमीकमजोरी छन् भने पत्रकारिताले उजागर गरिदिपर्छ भन्नुभयो ।

“पत्रकारिता प्रतिपक्षी दल जस्तो नभएर आफ्नो पेशाप्रति मर्यादित हुनुपर्छ”, उहाँले भन्नुभयो, “सञ्चारमाध्यमले आफ्नो स्वायत्ततातर्फ विशेष ध्यान दिनुपर्छ ।”

अर्थमन्त्री डा खतिवडाले प्रेस जवाफदेही भएमात्र राजनीतिक प्रणाली सुदृढ हुने बताउँदै नेपाली सञ्चारमाध्यमले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको धारणा व्यक्त गर्नुभयो ।

व्यक्ति विशेषलाई लक्षित गरेर सञ्चारमाध्यम चलाउन नहुने बताउँदै उहाँले आर्थिक पत्रकारिताको क्षमता अभिवृद्धि गर्न मन्त्रालय सदैव सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महालेखा परीक्षकको कार्यालयका महालेखा परीक्षक टङ्कमणि शर्माले आर्थिक विकासको मुद्दालाई उठान गरेर तथ्यमा आधारित समाचार सम्प्रेशन गर्न आर्थिक पत्रकारलाई सुझाव दिनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक पत्रकारले मुलुकको विकासका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले पत्रकारितालाई मर्यादित बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु