६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री बालेन भारत प्रस्थान


प्रधानमन्त्री बालेन भारत प्रस्थान

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो २ः०५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेको हो ।

प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाइ गरे ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछ । साथै उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग यही मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ ।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन हुनेछ । यस्तै केही नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।

साथै भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संशाधन विकास जस्ता सहकार्यका विविध क्षेत्र समेटिएका विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछन् । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने जनाइएको छ ।

भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी यही मङ्सिर ७ गते साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !