काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीवीच मंसिर ७ गते सोमबार हैदरावाद हाउसमा भेटवार्ता हुने भएको छ । भारतको विदेश मन्त्रालयले आज एउटा तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
भारतको दुईदिने राजकीय भ्रमणका जान लागेका प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नेछन् । सो दिन साँझ ६ बजे उनले होटेल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।
यस्तै सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम भएपछि उनी श्रद्धाञ्जली अर्पण गर्न राजघाट पुग्नेछन् । राजघाटको कार्यक्रमपछि शाह र मोदीबीच भेटवार्ता हुनेछ ।
सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् । त्यसपछि अपराह्न ४ बजेर ५० मिनेटमा उनी नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।














