२ मंसिर २०८३, बुधबार

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन जोड


परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेका चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खनालले नाका खुलाउन सम्बन्धित चिनियाँ निकायसँग विशेष पहल गर्न आग्रह गरेका हुन्।

केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले रसुवागढी नाका बन्द भएको र हिउँदका कारण चीन जोड्ने अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उनले बताए । यस्तो अवस्थामा काठमाडौंसँग सबैभन्दा छोटो दूरीमा रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको खनालको भनाइ थियो।

‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ उनले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ।’

जवाफमा अध्यक्ष याङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने बताएका थिए । भेटमा नेपाल–चीन व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध र शिक्षालगायत विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !