चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ ।
आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ । भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा केही ढिलाइ हुँदा निर्माण कम्पनीले बीचको समयमा काम रोकेकाले सम्झौता मितिअनुसार काममा ढिलाइ भएको हो । रङ्गशाला निर्माणका लागि महानगरपालिकाले ७० प्रतिशत बागमती प्रदेशबाट भुक्तानी हुने गरी सम्झौता गरेको थियो । प्रदेशको बजेट निकासा हुन ढिलो भएकाले काम प्रभावित भएको उहाँले बताउनुभयो ।
निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उहाँको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका कारणले समयमै निर्माणको काम गर्न नसकिएको निर्माण कम्पनी व्यवस्थापक सम्राट सिलवालले बताउनुभयो । उहाँले पुरानो संरचनामा निर्माण कार्य गरिएकाले प्राविधिक निर्णयहरू एकापसमा बाँझिदा निर्माणमा पनि समस्या आएको बताउनुभयो ।
अहिले मुख्यगरी मैदानको काममा ढिलाइ हुँदा समयमै निर्माण सम्पन्न नहुने निश्चितजस्तै छ । त्यसैकारण निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग निर्माणको काम सक्न म्याद थप माग्ने तयारी गरेको छ । सम्झौता सकिनु ३५ दिन अघि म्याद थपका लागि निवेदन दिनुपर्ने हुन्छ ।
निर्माण अवधि सकिनै लाग्दा रङ्गशालाको पहिलो भेरिएसन अर्डर (भिओ) असोज २८ मा स्वीकृत भएको छ । सुरुवाती चरणमा रु ७८ करोड ५० लाख ९१ हजार (भ्याटसहित) मा ठेक्का सम्झौता भएकोमा अब लागत बढेर रु ८६ करोड २४ लाख ८४ हजार पुगेको छ । यसले लागत मात्रै वृद्धि नभई निर्माणको काम पनि थपिएको छ । त्यसकारण पनि सम्झौताअनुसारको समयमा निर्माण सम्पन्न नहुने निर्माण कम्पनीले जनाएको छ ।
भरतपुर महानगरका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार मुख्य रुपमा मैदाानको काम बाँकी छ । मैदानमा चार तह माटो राखेर त्यसभित्र पाइप हाल्न बाँकी छ । त्यसमाथि नरम माटो राखेर बरुणा नामको घाँस रोपिने छ । यसका अतिरिक्त दुई वटा टावरको काम अन्तिम चरणमा पुगेको छ । चार वटा प्यारापिटमध्ये दुई वटा सकिएको छ भने तेस्रो ९० प्रतिशत र चौथो ७० प्रतिशत प्रगति भएको छ ।
विद्युत् जडानको काम बाँकी छ । निर्माण कम्पनीले नियमित रुपमा काम गरेमा धेरै समय नलाग्ने आचार्य बताउनुहुन्छ । अहिले दैनिक ८० जना हाराहारीले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । दसैँको समयमा समेत काम भइरहेको उहाँको भनाइ छ ।
भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारसँग मिलेर विसं २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बिबीआर जेभीसँग सम्झौता गरी रङ्गशाला निर्माणको काम अघि बढाएको थियो । धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण काम गर्न नसक्ने जनाउँदै महानगरलाई दायित्व सुम्पिएपछि महानगरले बागमती प्रदेश सरकारको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानी सुनिश्चित गरी अलपत्र अवस्थामा परेको रङ्गशालाको निर्माण अघि बढाएको थियो ।
चितवनमा राष्ट्रियस्तरको क्रिकेट क्लब चितवन राईनोज समेत रहेकाले र पछिल्लो समय एनपिएलको क्रेज बढेकाले अन्तरराष्ट्रियस्तरका खेल चितवनमा खेलाउन यो रङ्गशाला छिटो सम्पन्न गर्न दबाब छ । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई महानगरको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको भन्दै उहाँले छिटो काम सम्पन्न गर्न आग्रह गर्दै आएको बताउनुभयो । गत आर्थिक वर्षमा भुक्तानीमा केही ढिला भए पनि अन्य सबै काममा महानगरले सहजीकरण गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “रङ्गशाला छिटो सम्पन्न गर्न हामीले निर्माण कम्पनीलाई भनिरहेका छौँ, अब धेरै ढिलो हुँदैन ।” देशभर क्रिकेट खेलको लोकप्रियता बढिरहेकाले छिटो रङ्गशाला सम्पन्न गरी राष्ट्रिय र अन्तरराष्ट्रिय खेल भरतपुरमा गर्न महानगर आतुर रहेको अधिकारीको भनाइ छ ।












