काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग २ घण्टा छलफल गरेका छन् । आज बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले उनीहरुलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे ।
प्रधानमन्त्री शाहज्यूले भने, “तपाईंहरु आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”
प्रधानमन्त्रीले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए । निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गरे ।
प्रधानमन्त्रीले सांसदहरुलाई परिवर्तनको संवाहक भएको उल्लेख गर्दै त्यस्ता व्यक्तिले सधै नयाँ उपाय ल्याउने र त्यसैमा काम गर्ने भएकाले पाँच वर्षमा मुलुक बन्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री शाहले करिब दुई घण्टा भएको छलफलमा १७ सांसद सहभागी थिए । छलफलमा बाढी–पहिरोको अवस्थादेखि औद्योगिकीकरण, कानुनी सुधार र विद्युत् खपत बढाउने योजनासम्मका विषयमा सुझाव लिइएको थियो।









