काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतले आज पूर्वअर्थमन्त्री कार्कीसँग भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।उनीविरुद्ध पोखरा विमानस्थल निर्माणमा कर छुट दिएकोमा भ्रष्टाचार गरेको आरोप थियो ।
कार्कीसहितका प्रतिवादीविरुद्ध तीन अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दाको बयान र थुनछेक प्रयोजनका लागि कार्की विशेष अदालतमा हाजिर भएका थिए ।








