२६ असार २०८३, शुक्रबार

गण्डकी प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा बाबुराम बस्ताकोटी नियुक्त


बाबुराम बस्ताकोटी

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा बाबुराम बस्ताकोटी नियुक्त भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानका संरक्षक समेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार प्राज्ञ सदस्यमा बस्ताकोटीलाई नियुक्त गरेका हुन् भने नवनियुक्त कुलपति प्रा डा कुसुमाकर न्यौपानेले बस्ताकोटीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

यसैगरी मुख्यमन्त्री पाण्डेले मंगलबार नै विक्रम संवत् २०८२ वैशाखदेखि रिक्त रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य सचिव र अन्य प्राज्ञ सदस्यहरु पनि नियुक्त गरेका थिए । प्रतिष्ठानका पदाधिकारी र सदस्यको कार्यकाल ४ वर्ष रहेको छ ।

कुलपति पदमा प्रा डा कुसुमाकर न्यौपानेलाई चार वर्षका लागि नियुक्त भएका छन् । प्रतिष्ठानको उपकुलपतिमा स्याङ्जाका शङ्कर विरही गुरुङ र सदस्यसचिवमा तनहुँका मनकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री पाण्डेले कुलपति न्यौपानेलाई, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरूङले उपकुलपति गुरुङ र सदस्य सचिव श्रेष्ठलाई र कुलपति न्यौपानेले बाँकी २१ जना प्राज्ञ सदस्यलाई सपथ गराएका थिए ।

यसैगरी अन्य प्रज्ञा सभा सदस्यहरुमा कास्कीका अनुराग अधिकारी, गायत्री पराजुली, चोलेन्द्र पौडेल, पवित्रा घिमिरे, बालकाशी गुरुङ, रामभक्त जोजिजु, रामजीप्रसाद पौडेल र हरिमाया श्रेष्ठलाई मनोनयन गरिएको उनले बताए ।

पर्वतबाट इन्द्रमान खत्री, कृष्णकुमार गुरुङ, शान्ति भुसाल, नवलपुरका ईश्वरीप्रसाद भुसाल, सञ्जु महतो थनेत, तनहुँका प्राडा ईश्वरचन्द्र वाग्ले, टुकादेवी पौडेल आचार्य, शान्ता बास्तोला, स्याङ्जाका कमल पौडेल ‘अथक’, म्याग्दीका भूपेन्द्र बानियाँ, लमजुङका वसन्त अधिकारी र गोरखाका डा वीरेन्द्र पुडासैनी प्राज्ञ सभा सदस्यमा मनोनीत भएका हुन् ।

प्रतिष्ठानमा नियुक्तिका लागि शौक्षिक योग्यतासहित मापदण्ड तोकेर प्रदेश सरकारले दरखास्त आह्वान गरेको थियो । सामाजिक विकास मन्त्री रेखा गुरूङको संयोजकत्वमा रहेको सिफारिस समितिले दिएको सिफारिसका आधारमा प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी र प्राज्ञ सदस्य मनोनयन गरेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !