२४ जेष्ठ २०८३, आइतबार

सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’


सुधन गुरुङ

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन् । आज आइतबार गृहजिल्ला गोरखामा पुगेका गुरुङले सफाइ पाएर फेरि गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

उनले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिनका लागि सहजीकरण गर्न आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताए । उनले आफूलाई फेरि त्यही (गृहमन्त्री)कै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका हुन् ।

उनले आफू फेरि गृहमन्त्री बनिहाले दुई महिनाको समयमा धेरै कामको सुरुवात गर्ने पनि बताए । उनले आफूले आफ्नो धरातल नबिर्सिएको र मतदाताको मतको सम्मान गरिरहने पनि बताए ।

उनीमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छानबिन प्रतिवेदन पेस गरिसकेको छ । मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति बनाएको थियो ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो । रकमको श्रोतबारे प्रश्न उठेपछि गुरुङले राजीनामा दिएका थिए ।

भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ । सांसद गुरुङ आज राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा जिल्ला अधिवेशनमा भाग लिन गोरखा पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !