काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले हिजो शनिबार मध्यरातमा राजदूत नियुक्तिका लागि पदीय मर्यादा मिचेर प्रधानमन्त्रीलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करको कदमप्रति कटाक्ष गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुक आइडीमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले रमाइलो पारामा व्यङ्ग्य प्रहार गर्दै लेखेका छन्, ‘मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर छ भने यसो दिनुस् न ।’
आफ्नो पदको गरिमा बिर्सेर व्यक्तिगत स्वार्थका लागि अनुचित बाटो रोज्ने उच्चपदस्थ कर्मचारीको प्रवृत्तिलाई कटाक्ष गर्दै प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारले सचिव पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त (जगेडा) समूहमा तानेको छ । शुक्रबार प्रधानमन्त्री शाहकै निर्देशनमा उनलाई जिम्मेवारीविहीन बनाउँदै जगेडामा राखिएको हो ।













