काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको योगदानको स्मरण गर्दै उहाँहरूले नेपाली कम्युनिष्ट आन्दोलनलाई जनस्तरसम्म स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताएकी छन् ।
मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले दिवङ्गत नेताद्वयबाट कम्युनिष्ट आन्दोलन एवं एमालेको सङ्गठन विस्तारमा भएको योगदानको स्मरण गरेकी छन् ।
सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रवर्तित जनताको बहुदलीय जनवादले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गप्रशस्त गर्दै एमालेलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अतुलनीय भूमिका निर्वाह गरेको बताएकी छन् ।













