२१ बैशाख २०८३, सोमबार

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश


शेखर गोल्छा

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । सर्वोच्चले आज थुनामा राखिएका व्यवसायी गोल्छालाई धरौटी जमानतमा छाड्न आदेश दिएको हो ।

गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो । यद्यपि जमानत बुझाउन नसके मात्र हिरासतमा राख्न सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो ।

सीआइबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि गत वैशाख २० देखि लागु हुने गरी चौथो पटक चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति प्रदान गरेको थियो ।

यसअघि सर्वोच्चले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रहेका गोल्छालाई गत वैशाख १५ गते सर्वोच्चले २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) लाई आदेश दिएको थियो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा गोल्छाको नामसमेत मुछिएपछि सीआईबीले पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !