२१ असार २०८३, आइतबार

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण


थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबाट मूल्य निर्धारण गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यसमेतलाई आधार मानी ‘ए’ ग्रेडको ‘पार्चमेन्ट’ कफीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रू छ सय निर्धारण गरिएको छ ।

बोर्डले भने सोही कफीको मूल्यप्रति केजी रु पाँच सय निर्धारण गरेको छ । गत मङ्सिर १ गतेदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरी बोर्डले सार्वजनिक सूचना नै जारी गरेको छ । बोर्डको समर्थन मूल्यभन्दा प्रतिकिलो रू एक सय बढी निर्धारण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

उनले भने, “थुलुङ दूधकोशी सरकार वास्तविक कृषकको उन्नतिका लागि काम गर्ने सरकार हो, त्यसैले आर्थिक विकासका लागि महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” यसअघि थुलुङ दूधकोशी गाउँपालिका–८ देउसामा रहेको देउसा कृषिवन स्रोतकेन्द्रले कृषकको कफी प्रतिकिलो रू पाँच सयले सङ्कलन गर्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !