१४ बैशाख २०८१, शुक्रबार

अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा


Sher Bahadur Deuwa

९ वैशाख, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुनलागेको बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजेको आरोप लगाए।
“अधिनायकवादी र सर्वसत्तावादी कम्युनिष्ट पार्टीको खिलापमा काँग्रेस एकजुट भएर लाग्नुपर्छ,”– उनले भने ।
उनले प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने बताए ।

पार्टीका महामन्त्री डा सशांक कोइरालाले पार्टीलाई एकढिक्का बनाएर लैजान सभापतिलाई आग्रह गरे ।  “इतिहास, विचार र कार्यकर्ता भएको पार्टीले यी तीनै कुरालाई जनतामाझ लैजान सकेमात्र काँग्रेसको भलो हुन्छ,”– उनले भने ।
महामन्त्री डा. कोइरालाले काँग्रेसले अहिलेसम्म गरेको राम्रो कामलाई कार्यक्रम बनाएर जनतामाझ लैजानुपर्ने बताए ।
केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी हारको जिम्मा पार्टी सभापतिले लिनुपर्ने भन्दै काँग्रेस अब संगठन बलियो बनाउने र भोट बढाउने बाटोमा लाग्नुपर्ने बताए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !