१४ बैशाख २०८१, शुक्रबार

दिल्लीसँग पराजित हुँदै मुम्बई आईपीएलवाट बाहिरियो


IPL

एजेन्सी, ७ जेठ । मुम्बई इण्डियन्स आईपीएल क्रिकेटको लिग चरणबाट बाहिरिएको छ ।

प्लेअफमा पुग्न जित्नैपर्ने खेलमा दिल्ली डेयरडेभिल्ससंग ११ रनले हारेपछि मुम्बई बाहिरिएको हो । यो नतिजापछि राजस्थान रोयल्सको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । यद्यपि, अहिले चेन्नइसंग खेलिरहेको पञ्जावले ठुलो अन्तरको जीत हात पारे पञ्जाव पनि प्लेअफमा पुग्न सक्नेछ ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बई खेल सकिन ३ बल बाँकी छँदै १ सय ६३ रनमा अलआउट भयो । मुम्बईका एभिन लेविसले ४८ र बेन कटिङ्सले ३७ रन बनाएपनि टिमलाई जिताउन भने सकेनन् ।  लेविसले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए भने कटिङ्सले २० बलमा २ चौका र ३ छक्का हाने । मुम्बइका अरु ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका लागि सन्दिप लामिछाने, अमित मिश्रा र हर्षल पटेलले तीन तीन विकेट लिएपछि मुम्बई पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएपछि मुम्बईले १ सय ७५ रनको लक्ष्य पाएको हो । फिरोज साह कोटला मैदानमा भएको खेलमा घरेलु टोली दिल्लीका ऋषभ पन्तले ६४ र विजयशंकरले नटआउट ४३ रन बनाए ।

ऋषभले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६४ रन बनाएका हुन् भने  विजयले ३० बलमा ३ चौका र २ छक्का सहित ४३ रन बनाए । यस्तै, ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !