१४ बैशाख २०८१, शुक्रबार

टोखामा स्वास्थ्य सेवा केन्द्र स्थापना


स्वास्थ्य

६ जेठ, काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर टोखा नगरपालिका–३ मा धनेश्वरमा धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा पोलिक्निक सञ्चालनमा आएको छ ।

लामो समयदेखि टोखामा बसोबास गर्दै आउनुभएका १५ चिकित्सक तथा परिचरको लगानीमा आजदेखि धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा धनेश्वर पोलिक्निक सञ्चालनमा ल्याइएको छ । नवनिर्मित स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले चाँडै अस्पताल स्थापना गर्न लागेको जानकारी दिनुभयो ।

टोखा नगरपालिका–३ का वडाध्यक्ष सिंहराज श्रेष्ठले टोखाका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले घरदैलो स्वास्थ्य शिविर, महिलामा हुने पाठेघर अर्बुद रोगको उपचारलगायत काम गर्दै आएको बताउनुभयो ।

अठ्ठाइस वर्षदेखि स्वास्थ्य सेवामा संलग्न डा प्रदीप ज्ञवालीको सक्रियतामा बनेको सेवा केन्द्रमा वीर, त्रिवि शिक्षण र नेपाल प्रहरी अस्पतालका चिकित्सकले सेवा दिनुहुनेछ । डा ज्ञवालीले स्थानीयवासीको साथ र सहयोग पाएमा आगामी दिनमा धनेश्वरमा १०० शैय्याको सुविधासम्पन्न अस्पताल बनाइने बताउनुभयो ।

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले स्वास्थ्य सेवा केन्द्रको स्थापनासँगै चक्रपथभन्दा टाढा गएर स्वास्थ्योपचार गराउन नपर्ने हुँदा जनतालाई ठूलो राहत पुगेको बताउनुभयो । गँगबु, मनमैजु, बानियाँटार, धनेश्वर, साङ्ला, फुटुङ, टोखा, झोरलगायत क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले स्थापना भएको केन्द्रमा स्थापनाका अवसर पारेर आज ४०० जनाले निःशुल्क स्वास्थ्य जाँचसमेत गरेका छन् ।

असल संस्कार, समृद्धिको आधार

संस्कार समाज नेपालको आयोजनामा नयाँ बसपार्क क्षेत्रमा सरसफाइ गरी आज एक ट्रक फोहोर व्यवस्थापन भएको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफँै बनाऔँ’ भन्ने मूलनाराका साथ एक वर्षदेखि सामाजिक काम गर्दै आएकोसमाजले ३६ औँ हप्तामा गँगबुदेखि बसपार्क क्षेत्रको फोहोर व्यवस्थापन गरेको छ ।

समाजका अध्यक्ष पशुपति गुरुङले समृद्धिको मुख्य आधार नै असल संस्कार भएकाले समाज र देशको विकासका लागि असल संस्कारको विकास गर्नुपर्ने बताउनुभयो ।

यसअघि समाजले ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रम, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशी–नयाँ बसपार्कमा ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणलगायत काम गरिसकेको समाजका कोषाध्यक्ष सरु जिसीले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !