२९ बैशाख २०८१, शनिबार

पोर्चुगललाई हराउँदै अफ्रिकी मुलुक मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा


मोरक्को विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । विश्वकप फुटबलको इतिहासमा पहिलोपटक अफ्रिकन मुलुक मोरक्को सेमिफाइनलमा पुगेको छ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज भएको क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो ।

मोरक्को विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी मुलुकबाहेक सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि सन् २००२ मा दक्षिण कोरिया र १९३० मा अमेरिका सेमिफाइनलमा पुगेका थिए ।

कतारको अल थुमामा रंगशालामा आज भएको खेलमा पोर्चुगललाई १-० हराउँदै मोरक्को विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ४२ औं मिनेटमा मोरक्कोले सुरुवाती अग्रता बनाएको थियो ।

युसुफ एन नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।

खेलको ८३ औं मिनेटमा गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गर्दै खेलमा मोरक्कोको अग्रता कायम राखे । रोनाल्डोको पासमा जोआओ फेलिक्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बोनोले बचाए । उनले आफ्नो दायाँतर्फ डाइभ दिँदै बललाई बाहिर पठाएका थिए ।

आजको जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । मोरक्कोले सेमिफाइनलमा आज राति १२:४५ बजे हुने फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्ने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !