३ आश्विन २०८१, बिहीबार

११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित


११ पुस, जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ ।

शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेर मानिस, चौपाया, पशुपक्षी तथा बालीनाली सबैलाई प्रभावित पारेको छ । चिसो स्याँठका बीच यहाँका मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको छ ।

त्यस्तै विभिन्न बारी तथा खेतहरुमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको जिल्लाका किसानले बताएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।

यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा वृद्धि भएको छ । अत्यधिक चिसोले जिल्लाको हाट बजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सकले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !