३ असार २०८१, आइतबार

अत्यधिक चिसोपछि विद्यालय बन्द


स्कुल

१८ पुस, हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् ।

सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताउनुभयो ।

“आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुआत गरिनेछ,” मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भन्नुभयो । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् ।

विस्फोटक पदार्थ ढुवानी

कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनाको याछरा भीर फुटाउनका लागि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबारदेखि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इञ्जिनीयर शशाङ्क मिश्रले जानकारी दिनुभयो ।

काठमाडौँबाट सुर्खेतहुँदै विष्फोटक पदार्थ हुम्ला ढुवानी गरिएको हो । सो विस्फोटक पदार्थ सिमकोट–हिल्सा, खार्पुदेखि सुनाखाडा र छारेदेखि सलिसल्लासम्मको सडक निर्माणमा प्रयोग गरिने मिश्रले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !