२९ कार्तिक २०८१, बिहीबार

काठमाडौँको तापक्रम यस वर्षकै कम : अझै घट्न सक्ने सम्भावना


काठमाडौँ

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम २.६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम ३.४ डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।

अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ ।

चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम दुई दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव तीन डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव एक डिग्री सेल्सियस रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !