काठमाडौँ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ । साथै पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागल जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति प्रदेश नं १, दुई, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्कादेखि माध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।