पृष्ठभूमि : बल्थली राजधानीको कोलाहलबाट आजित भएकाहरुलाई प्रकृतिसँग रम्नका लागि उत्कृष्ट गन्तब्य हो ।
परिचय
बल्थली काभ्रे जिल्लाको पनौती नगरपालिका–११ मा पर्छ । काठमाडौंबाट ३९ किलोमिटर दक्षिण पूर्वमा प्राकृतिक एवं सांस्कृतिक रुपले काभ्रेको महत्वपूर्ण सुन्दर गाउँ बल्थली हो । ट्रेकिङ्ग र हाइकिङको लागि उपयुक्त गन्तब्य बल्थली पनौतीबाट ७ किलोमिटरको दुरीमा पर्छ । बल्थली गाउँ प्राकृतिक एंव संस्कृतिक रुपले सम्पन्न रहेको छ । डाँडै डाँडाले घेरिएको र बीचमा समथर जमिन रहेको छ । बिहानी धामको झुल्कासँगै यहाँबाट हिमालहरु सहजै देख्न सकिन्छ । पछिल्लो समयमा बल्थली आउने विदेशी एंव स्वदेशी पर्यटकहरुको लर्को नै लाग्ने गरेको छ ।
धार्मिक तथा सांस्कृतिक महत्व
पर्यटकिय नगरी पनौतीबाट ७ किलोमिटरको दुरीमा अवस्थित बल्थली गाउँ प्राकृतिक एंव संस्कृतिक रुपले सम्पन्न रहेको छ । धार्मिक रुपमा पनि यहाँ आकर्षत गर्ने धेरै धार्मिक स्थल रहेका छन् । विश्वको सबै भन्दा ठुलो त्रिशुल, लडर्केश्वर महादेव, कमलादेविको मन्दिर यहाँको प्रमुख आकर्षणको केन्द्र विन्दु हो भने नमोवुद्घ पनि नजिकै रहेको छ । बाहुन, क्षेत्रीसंगै यस क्षेत्रमा तामाङको पनि बसोबास रहेको छ । जसले गर्दा बिभिन्न कला(संस्कृतिसमेत एकै ठाउंबाट देख्न सकिन्छ ।
पर्यटकीय महत्व
काभ्रेको बल्थली क्षेत्र पछिल्लो समयमा आकर्षक पर्यटकीय केन्द्र बनेको छ । ग्रामीण वातावरणमा पर्यटकीय आनन्द बटुल्न ठुलो संख्यामा पर्यटकहरु जाने गर्छन । भौगोलिक बनावट र प्राकृतिक सुन्दरताको अद्घितिय रुपले उक्त क्षेत्र भरिपूर्ण छ ।
पर्यटन प्रवद्र्धन
ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यहाँ खुलेका रिसोर्ट मात्र होइन होमस्टेले पनि बल्थली जाने जो कोहीलाई आतिथ्य सत्कारसहित त्यहाँको बसाईलाई रमणिय बनाउनेछ ।
प्राकृतिक सौन्दर्य
बिहानी धामको झुल्कासँगै यहाँबाट हिमालहरु सहजै देख्न सकिन्छ । पनौती, खोपासी चलाल गणेसस्थान लगायत फाँटहरुको दृश्यले पर्यटकहरु लोभिने गरेका छन् । मौसमको अनुकुलताका आधारमा बल्थलीबाट लाङटाङ, गणेश, जुगल, फुर्बीघ्याचु, दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, रोल्वालिंगदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमशृंखला प्रष्ट रुपमा देख्न सकिन्छ ।
पर्यटकीय सम्भावना
काठमाडौबाट नजिकको यति सुन्दर स्थल बल्थली ग्रामिण पर्यटकको राम्रो सम्भावना भएको क्षेत्र हो ।
आकर्षणहरू
बल्थलीबाट हाइकिङ गर्दै नमोबुद्धसम्म जान पनि सकिन्छ । बल्थलीमै पनि लड्कु खोला, महादेव मन्दिर सहितका पवित्र स्थान घुम्न सकिन्छ । ट्रेकिङ्ग र हाइकिङको लागि उपयुक्त गन्तब्य बल्थली भएकोले पर्यटकले बढी मन पराउने गरेका छन् । काठमाडौ साँखुबाट लप्सीफेदी, नगरकोट, बल्थली, नमोबुद्घ र धुलिखेल ‘भिलेज ट्रेक’ रुढ हो । बल्थलीबाट नजिकको ख्याकु, डाँडागाउँ, नेपाने, लुकुवा लगायतका ठाउमा ट्रेकिङ्ग र हाइकिङ्गको लागि पर्यटकको लर्को नै लाग्ने गरेको छ । खोपासीमा बसबाट ओर्लिएपछि फर्पिङ पछिको नेपालको दोस्रो पुरानो जलविद्युत् आयोजना हेर्न सकिन्छ ।
कसरी पुग्ने ?
राजधानी काठमाडौंबाट बनेपा पनौती हुँदै खोपासीसम्म बसबाट अथवा निजी सवारीबाट यात्रा गर्नुपर्ने हुन्छ । काठमाडौंबाट ३९ किलोमिटरको दुरीमा रहेको बल्थली पुग्न खोपासीबाट भने कच्ची सडकमा जानुपर्छ ।
यो पनि पढ्नुहोस्
काभ्रेपलाञ्चोकको सुन्दर पर्यटकीय गन्तव्य तिमाल
सिन्धुपाल्चोकको सुन्दर पर्यटकीय गन्तब्य हेलम्बु
सिन्धुपाल्चोकको सुन्दर पर्यटकीय गन्तब्य पाँचपोखरी
शिवको तपोभूमि र बुद्धले पाइला टेकेको पवित्र तीर्थस्थल शैलुङ