पृष्ठभूमि : नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को संख्यामा सेना काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग नेपाली फौजले घमासान युद्ध गरी बिजयी हासिल गरेको ऐतिहासिक स्थल हो सिन्धुलीगढी ।
परिचय
नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा सिन्धुली जिल्लाको सिन्धुलीगढीलाई पनि छनोट गरेको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका स्थित सिन्धुलीमाढीबाट करिब १६ कि.मि. उत्तरतर्फ रहेको चारैतिर हरियाली फाँटको बीचमा अवस्थित स्वर्णिम इतिहास बोकेको अग्लो थुम्को नै सिन्धुलीगढी हो । सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । सिन्धुलीगढी सिन्धुली जिल्लाको पुरानो सदरमुकाम पनि हो । यो नेपालकै ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । सिन्धुलीगढीको क्षेत्रफल ३००० वर्र्गिमटरमा फैलिएको छ । यो ठाँउ काठमाडौंबाट करीव १५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाईमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ ।
सिन्धुलीगढीमा सानो र ठूलो गरी दुईवटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ । सिन्धुलीगढीको प्रवेशद्वार नजिकैबाट सिँढी हुँदै करिब १५–२० मिनेट उकालो चढेपछि गढीको मुख्य द्वारमा पुगिन्छ । केहीसम्म भू–भागमा अवस्थित गढीको माथिल्लो भागमा एउटा जीर्ण तथा सुख्खा इनार देख्न सकिन्छ । युद्धका समयमा गोर्खाली फौजका लागि पानीको कमी नहोस् भनेर गढीको एक छेउमा इनार खनेर पानीको भण्डारण गरिने गरेको इनार अहिले भग्नावषेशमा परिणत भएको छ ।
दरबार र गढीबीचको भागमा एउटा पौवासहित सामान्य वनभोज स्थल निर्माण गरिएको छ । वनभोज स्थलबाट दरबार जाने बाटोको छेउमा काँडे तारले प्राचीन अदालत र कारागार रहेको स्थानलाई घेरेको छ । गढीको पहिलो प्रवेशद्वार अनि त्यसमाथि रहेको सेनाको सेन्ट्रीका साथै ठूलो चौतारो पनि जीर्ण अवस्थामा छ । २०१९ सालसम्म जिल्लाका सबै सरकारी कार्यालय त्यहीँ थिए । २०२२ मा सेनाको ब्यारेक र प्रहरी चौकी, कारागारमात्र बाँकी रहेर सबै कार्यालय सिन्धुलीमाढी सारियो ।
महत्व
प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण स्थानले पर्यटकीय महत्व बोकेको छ । नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण स्थल सिन्धुलीगढीलाई दुई गढीमा विभाजन गरेको पाइन्छ, जसलाई सानो गढी र ठूलोपौवा गढी भनिन्छ । गढीमा बसेर वीर गोर्खालीले अङ्ग्रेज विरूद्धको युद्ध जितेका थिए । सिन्धुलीगढी एउटा त्यस्तो ऐतिहासिक किल्ला हो, जसले सन् १८२४ को नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेजलाई पराजय गरी नेपाललाई अङ्ग्रेजको पन्जामा पर्नबाट जोगाएको थियो तर गायक कृष्णविक्रम थापाले २०३७ मा देखेको त्यो सुन्दर, आकर्षक र भव्य दरबार आज पूरै जीर्ण भई भग्नावशेषमा परिणत भइसकेको छ ।
इतिहास
वि.सं. १३६७ मा सिम्रौनगढका सेनाले काठमाडौँमा व्यापक लुटपाट गरी बनेपा हुँदै सिन्धुली गढीको बाटो भएर विदेह राज्य (जनकपुर र सीतामडी) फर्केका थिए । इतिहासका घटनाक्रम अध्ययन गर्दा डोयहरूको आक्रमणको करिब ४० वर्षपछि जयस्थिति मल्लका पालामा अर्थात् वि.सं. १४०६ को मङ्सिरमा बङ्गालका शासक समसुद्दिन इलियासको फौजले काठमाडौँलाई लगभग ध्वस्त बनाई फर्किंदा पनि सिन्धुलीगढीको बाटो हुँदै बङ्गाल गएका थिए । यो अपार क्षतिबाट विक्षिप्त भएर पुनः आक्रमणको प्रतिरोध एवं बचावटका लागि गढी स्थापना वि.सं. १४११ र वि.सं. १४५२ को बीचमा जयस्थिति मल्लले गरेका हुन् । राजा जयस्थितिले गढीको फेदीभन्दा केहीपर भारदारलाई सुराकीका रूपमा राखेका थिए । काठमाडौँका राजा यक्ष मल्लले अयोध्या र मगधसमेत नेपालमा गाभेपछि विदेशीलाई पुनः प्रत्याक्रमण गर्न नदिन वि.सं. १५१५ तिर सिन्धुलीगढीलाई मजबुत बनाएका तथ्य इतिहासमा पाइन्छन् । वि.सं. १५५६ तिर राजा शिवसिं मल्लले सिन्धुलीमा आक्रमण गरी विजय गरेपछि सिन्धुलीगढीलाई अधिकारमा लिएका थिए ।
वि.सं. १७४६ मा कान्तिपुरका राजा भुपालेन्द्र मल्लका भारदार र मोरङका बादशाह इन्द्रविधाता सेन (हरइन्द्र सेन) सिन्धुलीगढीमा भेला भई मैत्री सम्बन्ध स्थापना गरेका गरेका थिए । वि.सं. १८७३ मा शुरु भएको नेपाल–अङ्ग्रेज युद्धको समयमा सिन्धुलीगढीको सामरिक महत्व बुझेर तत्कालीन जनरल भीमसेन थापाले सिन्धुली गढीमा कानुनी रूपमा स्थायी सैन्य छाउनी व्यवस्था गरेका थिए । १८८६ माघमा जनरल थापाले पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका पनि इतिहासमा उल्लेख पाइन्छ ।
सन् १८१९ मा गोर्खाली सेनाले गढी कब्जा गरेपछि गोर्खाली सेना बस्न पृथ्वीनारायण शाहले गढीमा काठ र खरको छानो राखेर घर बनेका थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाको समयमा सिन्धुलीगढी मकवानपुर राज्यअन्तर्गत पथ्र्यो । वि.सं. १९७५ सालतिर प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६ झ्याल, टिनको छाना, सिमेन्ट र इँटाको गारो लगाएको दुई तले दरबार निर्माण शुरु गरेको इतिहास पाइन्छ । पछि गढीका कर्णेल पुष्करविक्रमले दरबारको निर्माण पूरा गरेका थिए ।
वि.सं. १८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको दुई हजार चार सय अङ्गे्रजी फौजलाई राजा पृथ्वीनारायण शाहका पालामा वंशु गुरुङ नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट भगाएका थिए, जसमा झण्डै १६ सय अङ्ग्रेज सेना हताहत भएका ऐतिहासिक तथ्य छ । अङ्ग्रेजविरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अङ्ग्रेजहरूको पहिलो पराजय । रणकौशलमा निपूर्ण मानिएका ठूलो सङ्ख्यामा आएका अङ्ग्रेज फौजले गोलाबारी र बन्धुकका साथ सिन्धुलीगढीमाथि आक्रमण गरेका थिए । अङ्ग्रेज फौजमाथि वीर गोर्खाली सैनिकले बडो चातुर्य र बहादुरीका साथ लडेर बैरीको फौजलाई तहनहस मात्र पारेनन्, उनीहरूसँग रहेको हातहतियारसमेत बरामद गरेका थिए । सिन्धुलीगढिबाट पराजित भएर जनकपुर पुगेपछि अङ्ग्रेज कप्तान किनलोकले ‘अब म गोर्खाली सैनिकसँग लडेर नेपाल विजय गर्न नसक्ने भए’ भनेका कुरा इतिहासमा उल्लेख भएको पाइन्छ । नेपालको विकट भौगोलिक क्षेत्रमा पाइने जैविक विविधतासँग परिचत नभएका अङ्ग्रेज फौजलाई गोर्खालीसँगको यो युद्ध ज्यादै महँगो सबित भएको थियो । यो लडाइँमा स्थानीय जनताले पनि सिस्नु, अल्लो, अरिङ्गालको गोला, बारुलाको गोला, कमिलाको गोला आदिको प्रयोगले अङ्ग्रेजका फौजमाथि आक्रमण गर्न सघाएको भनाइ छ ।
प्राकृतिक सौन्दर्य
अग्लो पहाड र हरियाली बन जङ्गलको बीचमा रहेको यो गढीमा पुगेपछि जो कोहीलाई पनि आनन्द र शान्तिको अनुभूति हुने गर्छ भने त्यहाँ पुग्ने पर्यटक अत्यन्त रमाउने गरेका छन् । गढीको उत्तरतर्फ गौरीशङ्कर हिमालको पृष्ठभूमिमा तामाकोशी नदी बगेकी छिन् भने दक्षिणतर्फ हरियाली वन जङ्गलले ढाकेको चुरे पहाडसँगै तराईका समथर मैदान अवस्थित छ । त्यस्तै गढीलाई पूर्वबाट सुनकोशी नदी र पश्चिमतर्फ बागमती नदी र मरिनखोलाको दृश्य देख्न सकिन्छ ।
पर्यटकीय सम्भावना
काठमाडौँ, जनकपुर, वीरगञ्जलगायत नेपालका प्रमुख शहरहरुबाट यातायातका साधन सहजै यहाँ पुग्ने भएपछि यतिखेर गढी आउने पर्यटक बढेका हुन् । अग्लो पहाड र हरियाली बन जङ्गलको बीचमा रहेको यो गढीमा पुगेपछि जो कोहीलाई पनि आनन्द र शान्तिको अनुभूति हुने गर्छ भने त्यहाँ पुग्ने पर्यटक अत्यन्त रमाउने गरेका छन् ।
निर्माण सम्पन्न हुनै लागेको बनेपा सिन्धुली हुँदै पूर्वी तराई जोड्ने बीपी राजमार्ग यतिखेर आकर्षक गन्तव्य बन्दै छ । लागतका आधारमा एसियाकै महँगो (झन्डै तीस अर्ब रुपैयाँ) लागतको यस बाटोको बनावटले समेत सबैलाई एकपटक यात्रा गर्न लालायित बनाउँछ र यात्राको क्रममा सिन्धुलीगढीमा पुग्ने रहर सबैलाई हुन्छ ।
कसरी पुग्ने ?
यो ठाउ काठमाडौंबाट करीव १ सय ५० किलोमिटर पूर्वमा रहेको छ । बी.पी. राजमार्ग हुँदै यहाँ सजिलै पुग्न सकिन्छ ।
यो पनि पढ्नुहोस्
रौतहटको ऐतिहासिक पर्यटकीय स्थल नुनथर
धनुषाको ऐतिहासिक धार्मिक स्थल मणि मण्डप
बाराको ऐतिहासिक पर्यटकीय गन्तव्य सिम्रौनगढ
सर्लाहीको मनोरम पर्यटकीय गन्तब्य नाढीमन ताल