७ पुस २०८१, आइतबार

घुम्न जाउँ भादा गाउँ


भादा गाउँ

पृष्ठभूमि : थारु समुदायको कला संस्कृति, परम्परा, वेषभूषाको अध्ययन अवलोकनका लागि कैलालीको भादा गाउँ घरवास मुख्य गन्तव्यका रुपमा परिचित हुन थालेको छ । शतप्रतिशत थारु चौधरी समुदायको बसोवास रहेको उक्त गाउँमा वर्षेनी भादा घरवास कार्यक्रम सञ्चालन गरिएसँगै थारु समुदायको संस्कृति, रहनसहन, परम्परा, वेषभूषाको अध्ययन अवलोकन गर्नका लागि प्रमुख गन्तव्य क्षेत्र बन्न थालेको हो ।

परिचय

सुदूरपश्चिम कैलाली जिल्लाको धनगढीदेखि झन्डै १७ किमी उत्तरपूर्वी क्षेत्रमा धनगढी उपमहानगरपालिका-१६ मा भादा गाउँ पर्दछ । भादा गाउँमा १९६ घरधुरी थारु समुदायका छन् । कैलाली उर्माको भादा गाउँको थारू बस्ती नेपालकै पहिलो होमस्टे हो । भादामा थारू समुदायको परम्परागत जीवनशैलीको अवलोकन गर्न सकिन्छ । चारैतिर जंगलले घेरिएको भादा गाउँ निकै आकर्षक गाउँ हो । प्रत्येक अंग्रेजी नयाँ बर्षको ५ दिन यहाँ महोत्सव मनाइन्छ ।

सांस्कृतिक महत्व

यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको खानपिन, वेशभूषा, रहनसहन, कला संस्कृतिका साथै प्राकृतिक दृष्यको अवलोकन गर्न यो ठाउँ प्रसिद्ध छ । पर्यटकहरूका लागि तयार गरिएका घर पनि परम्परागत तवरले नै निर्माण भएका छन् । पर्यटकलाई गाउँ घुमाउन गाइडको समेत व्यवस्था छ । तिनले विभिन्न जानकारी दिँदै गाउँ घुमाउँछन् । खानपिनका लागि थारू समुदायमा पाइने प्रायः सबै परिकार यहाँ पाइन्छ । पर्यटकलाई नाचगान देखाउन सांस्कृतिक टोली बनाइएको छ ।

उक्त गाउँमा थारु समुदायले तयार पारेका घरायसी प्रयोगमा आउने हस्तकलाका स्थानीय सामग्री ढकिया, डेलुवा, लेहङ्गा, मचिया, डेलिया, सिकहर, हसिया, बेल्नाचौकी, लगायतका बस्तुको अवलोकन गर्न सकिन्छ । यस्तै थारु खानाका परिकार ढिक्री, घोङ्घी, बरिया, फुलौरी, खेर्या, बङ्गुर तथा मुसाको मासु, गङगटाको पकौरी, सिध्रा, अण्डी भात लगायतका परिकार आकर्षणका रुपमा पाइन्छ । स्थानीय थारु समुदायको सखिया, झुम्रा, मघौटा, लठ्ठी, मुङग्रहुवा, हुर्डङवा, छोक्रा लगायतका नाचको प्रस्तुत पनि हेर्न सकिन्छ ।

पर्यटकीय महत्व

थारुहरुको परम्परागत रहनसहन, वेषभूषा, खानपान, कला संस्कृति नै भादा घरवास कार्यक्रमको विशेष आकर्षक पक्ष हो । विदेशी पर्यटकका लागि भादा गाउँ उत्कृष्ट गन्तव्य क्षेत्र बन्न सक्ने देखिएको छ । कृषि पेशा गरिरहेका भादा गाउँका बासिन्दा कतिपयले घरवास सञ्चालनको प्रभावपछि बाँसका चोयाबाट डोको, नाम्लो, डालो लगायतका सामग्री तयार पारेर बिक्री समेत गर्न थालेका छन् । घरवास सञ्चालनका समयमा अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटकलाई थारु संस्कृति र परम्परासँग सम्बन्धित सेवा सुविधा उपलब्ध गराउने गरिएको छ ।

प्राकृतिक सौन्दर्य

गाउँ नजिकै रहेको जोगिन्या ताल, ५ किलोमिटर मात्रै टाढा रहेको बेहडाबाबा मन्दिर, गणेश सामुदायिक वन पर्यटकका लागि अवलोकन गर्ने महत्वपूर्ण स्थान हुन् । ताल वरपर क्षेत्रको शान्त वातावरणले त्यहाँ घुम्न जाने जो कोहीको मन लोभ्याउँछ । त्यहाँको सामुदायिक वन जंगली जनावर र जडीबुटीको भण्डार नै छ । वन क्षेत्रमा स–साना जंगली जनावर सजिलै देख्न सकिन्छ । ताल र बेहडा बाबा क्षेत्रको अवलोकनमा पनि पर्यटकलाई कुनै झन्झट छैन । पर्यटकलाई घुमाउन लहरू (परम्परागत गोरूगाडा) तम्तयार हुन्छन् ।

पर्यटकिय सम्भावना

धनगढीवाट झण्डै १७ किलोमिटरको दूरीमा रहेको सो गाउँ नजिकै जोगिनिया ताल, रामेश्वर मन्दिर, बेहडाबाबा मन्दिर लगायतका तीर्थस्थल रहेका छन् । भ्रमण वर्ष सन् २०२० लाई पूरा गर्न देशभरीका प्रर्वद्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा उक्त गाउँ पनि समेटिएको छ ।

कसरी पुग्ने ? 

भादा जानका लागि थुप्रै बाटा छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गको दुई ठाउँ झिल र राजीपुरबाट भादा पुग्न सकिन्छ । झिलबाट बेहडाबाबा हुँदै ७ किलोमिटरको यात्रा पार गरेपछि भादा पुगिन्छ । त्यस्तै, राजीपुरको अलि घुमाउरो बाटोबाट १२ किलोमिटरको यात्रा पार गरेपछि पनि भादा पुगिन्छ ।

सदरमुकाम धनगढीबाट भादा जाने तीनओटा बाटा छन् । जसमध्ये सबैभन्दा छोटो बाटो क्याम्पस रोडबाट थोरै पूर्व मोती चोकबाट बायाँ हुँदै जाने बाटो हो, जसको दूरी १५ किलोमिटर मात्रै छ । मोती चोकबाट बायाँ मोडेपछि सोझै केही जंगल क्षेत्र पार गरेपछि पटेला गाउँ पुगिन्छ । पटेला गाउँपछि खुटिया नदी तर्नुपर्छ । नदी तरेपछि अर्को गाउँ लगत्तै शिवगंगा नदी आइपर्छ । त्यसपछि जंगल क्षेत्र हरेक दुईओटा बाटो आउने बित्तिकै दाहिने बाटो समात्नुपर्छ । दाहिने बाटो समात्दै अघि बढेपछि तिलकपुरुवा गाउँ पुगिन्छ । त्यसको केही मिनेटमै आउने एउटा अर्को पुल तरेपछि गन्तव्य स्थल भादा गाउँ पुगिन्छ ।

एउटा अर्को बाटो क्याम्पस रोडबाट सोझै फूलबारी जाने बाटो छ । जुन खुटिया नदी पार गरेपछि बायाँतर्फको बाटो समात्नुपर्छ । यो १७ किलोमिटर टाढा छ । यहाँबाट उर्मा हुँदै भादा पुगिन्छ । अर्को सबैभन्दा लामो बाटो २५ किलोमिटरको छ, जुन जोखर तालबाट पथरी हुँदै बेहडाबाबा मन्दिरसम्म पुग्छ । त्यस बाटोबाट गएपनि खुटिया र शिवगंगा नदी पार गर्नैपर्छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

स्वर्गकी भर्जिन अप्सरा : रारा ताल

कनकमुनि बुद्धको जन्मभूमि निग्लीहवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !