१ फाल्गुन २०८२, शुक्रबार

पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया


तालतलैया

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका– २ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोजस्थलका रूपमा लोकप्रिय बनेको हो ।

मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार दिनमा ५०० भन्दा बढी पर्यटक घुमघामका लागि आउने गरेका छन् । वनभोजका लागि यहाँ एकैपटक ७० भन्दा बढी समूहले वनभोज खानसक्ने क्षमता रहेकाले वनभोजमा आउनेले दुई–चार दिनअगाडि बुकिङ गराउनुपर्ने उनले बताए ।

पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र ६ वटा पोखरी निर्माण गरिएको छ । साथै, पर्यटकको थप सुविधाका लागि २ वटा मोटरबोट सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिले जनाएको छ । मंसिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको अध्यक्ष रायमाझीले बताए । उनका अनुसार करिब ४० प्रतिशत पर्यटक भारतका विभिन्न शहर तथा सिरहा, सप्तरी क्षेत्रबाट आउने गरेका छन् । उनले भने, ‘यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण चिडियाखाना हो, जहाँ दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदरलगायत विभिन्न वन्यजन्तु छन्, यिनै अवलोकन गर्न पर्यटकको संख्या यो समय बढ्दो छ ।’

आर्थिक वर्ष २०८१/८२ मा शहरी विकास मन्त्रालयबाट विनियोजन भएको ८५ लाख रुपैयाँ बजेटले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको अध्यक्ष रायमाझीले जानकारी दिए । उक्त बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ । तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको जनाउँदै उनले स्कुल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको संख्या उल्लेख्य रहेको बताए ।

स्थानीय व्यापारी चन्द्रकला श्रेष्ठले भनिन्, ‘घरनजिकै पर्यटकीयस्थल रहेकाले साना व्यापारीलाई ठूलो फाइदा पुगेको छ ।’ दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकाले चटपटे, मःम, चाउमिनलगायत परिकार बढी बिक्री हुने भन्दै उनले व्यापार वृद्धि हुँदा आयस्तर सुधार भएको बताइन् ।

मोरङको कानेपोखरीबाट साथीसहित घुम्न आएका निरोज थापाले तालतलैया छुट्टीको उपयुक्त गन्तव्य भएको बताए । उनले भने, ‘यहाँ फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, संरचना र फूलबारी भएकाले हामी छुट्टीको समयमा प्रायः यहाँ घुम्न आउने गर्छौं ।’

पूर्वक्षेत्रका प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यमध्ये एकका रूपमा विकसित हुँदै गएको तालतलैया स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ । यहाँ रहेका विभिन्न संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण तथा प्रवर्द्धनका लागि प्रदेश र संघीय सरकारबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष रायमाझीले बताए । तालतलैयाभित्र अहिले घुम्न आउने पर्यटक विश्राम गर्न दर्जनौँ चौतारा, बगैँचा साथै अवलोकनका लागि विभिन्न प्रकारका मूर्तिसमेत सरकारी सहयोगमा निर्माण गरिएको कार्यसमितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !