१९ असार २०८१, बुधबार

मुस्ताङको कागबेनीमा पिण्डदान गर्नेको भीड : एकैदिन ४ हजार तीर्थयात्री


कागबेनीमा पिण्डदान

गलेश्वर । कालीगण्डकीको तटमा अवस्थित प्रशिद्ध तीर्थस्थल मुस्ताङको कागबेनीमा आज दिवङ्गत आफन्तहरूको स्मरणमा पिण्डदान र तर्पण गर्ने तीर्थालुहरूको भीड लागेको छ ।

आज औँसी तीथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृहरूले मोक्ष पाउँछन् भन्ने विश्वास रहेकाले देशका विभिन्न ठाउँहरूबाट कागबेनीमा आइ करिब चार हजार भक्तजनले पिण्डदान गरेका कागबेनीबाट कृष्ण शर्मा सापकोटाले जानकारी दिए ।

औँसीको दिन कागबेनीमा श्रद्धा गर्न बिहीबार नै कागबेनीमा आएका भक्तजनहरूले कागबेनीका होटल र व्यक्तिगत घरहरूसमेत खचाखच भरिएका नवलपुरको गौँडाकोटबाट कागबेनी आउनुभएका मुकुन्द रेग्मीले बताए । उनका अनुसार कागबेनीका होटलमा बास नपाएपछि कैयौँ तीर्थयात्रीहरू मुक्तिनाथ उक्लिएका थिए ।

कागबेनी तीर्थालुले भरिएपछि कागबेनीबाट १२ किलोमिटरको यात्रा गरेर कोही मुक्तिनाथ पुगेका थिए भने कोही जोमसोमतर्फ झरेका रेग्मीले बताए ।

कागबेनीका होटल व्यवसायी छेप्तेन गुरुङका अनुसार कागबेनीमा यस वर्षकै सबैभन्दा बढी तीर्थालुहरू आएका छन् । “करिब चार हजारको हाराहारीमा तीर्थयात्रीहरू आएका छन्”, गुरुङले भनेयो, “यहाँ विगत दुई वर्षयताकै सबैभन्दा बढी भक्तजनहरू आज आएका हुन् ।” वडादशैँ र चैते दशैँ सुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।

कोरोनाका कारण विगत दुई वर्षसम्म सुनसान बनेको मुस्ताङमा पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू आउन सुरु भएको छ । यहाँ विदेशी पर्यटक पनि देखिन थालेका स्थानीय व्यवसायीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !