६ मंसिर २०८१, बिहीबार

खस साम्राज्यको आधारखण्ड हुम्लाको पर्यटकीय स्थल लिमी उपत्यका

लाशलाई टुक्रा-टुक्रा गरेर काटी गिद्धलाई खुवाइने चलन भएको लिमी उपत्यका


लिमी उपत्यका

पृष्ठभूमि : लिमी ११ सय वर्षअघिदेखि बसोवास रहेको सुन्दर हिमाली उपत्यका हो । हुम्लामा अवस्थित यो उपत्यका परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनका लागि पनि प्रसिद्ध मानिन्छ । फरक पहिचान सहितको खस साम्राज्यको आधारखण्ड भनेर चिनिने अनि लुकेको तिव्बतीय संस्कृतिको आकर्षण केन्द्रको रुपमा हुम्लाको लिमी उपत्यका रहेको छ ।

परिचय

हुम्ला जिल्लाको नाम्खा गाउँपालिकामा अवस्थित लिमी उपत्यका सुन्दर हिमाली भूगोलको क्यान्भासको नमूनाको रुपमा रहेको छ । करिब ११ सय वर्ष अगाडिदेखी यो बस्ती लुकेको सुन्दर हिमाल भित्रको स्थान हो । परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनको लागि पनि यो गाउँ प्रसिद्ध रहेको छ । यससँगै परम्परागत चौँरीपालन र त्यसमा प्रयोग हुने सामग्री, कृषिजन्य वस्तुको उत्पादन र त्यसको उपभोगको अवस्थाका बारेमा बुझ्न पुग्नैपर्ने ठाउँ हो, लिमी ।

 लिमी उपत्यका

यो पनि पढ्नुहोस् : सतीदेवीको अन्तिम अंग पतन भएको मुगुको धाम छायाँनाथ

धार्मिक तथा सांस्कृतिक महत्व

खस साम्राज्यको आधार विन्दु र बौद्धमार्गीको धरोहर मानिने पवित्र स्थल कैलाश पर्वत र मानसरोवरसँगै जोडिएको छ । उता तिब्बतसँग जोडिएको लिमी भ्याली र नजिकै भएर कैलाश पर्वत र मानसरोवर दर्शनको लागि पनि सहज छ ।

समुद्र सतहबाट १७ हजार फिट उँचाइमा अवस्थित लिमी रैथाने तिब्बती संस्कृति भएको वस्ती पनि हो । ल्हासामा समेत नभएको परम्परागत तिब्बती संस्कृति यहाँ रहेको विश्वास गरिन्छ ।

लिमी उपत्यकामा बौद्ध समुदायमा मानिस मरेपछि अन्तिम संस्कारको चलन पनि अरु ठाउँ भन्दा फरक छ । यहाँ लाशलाई टुक्रा-टुक्रा गरेर काटिन्छ र गिद्धलाई खुवाइन्छ । यसरी खुवाउदा कैलाश पर्वत र मानसरोवर देखिने ठाउँमा लगेर लाशलाई टुक्रा-टुक्रा गरेर काटेर फालिन्छ अनि त्यसलाई गिद्धले खाने गर्छ । यसो गर्दा भगवान महादेवको दुरदर्शन हुने हुँदा मृतक स्वर्ग तर्छ भन्ने जनविश्वास रहेको छ ।

अरबौं सम्पतीको गर गहना जो हुम्ला जिल्लाबाट हाल लोप भईसकेको अवस्था छ । त्यसको संरक्षण यो गाउँले गरिरहेको छ । दूरीको हिसाबले १ देखि आधी घण्टाको दूरीमा पर्ने हरेक गाउँको फरक पहिचान, चालचलन र संस्कृृति यहाँको विशेषता हो । यहाँ बोलिने भाषा, मनाईने चाडपर्व तथा अपनाईने संस्कृतीले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ ।

यहाँको वासिन्दाले लगाउने कपडा, गरगहना अति नै पौणाणिक र वैज्ञानिक रहेको छ । जसलाई नछुटाएर हेर्न लायकको छ । एउटै व्यक्तिले लगाउने कपडा २ करोड बराबरको मूल्य अहिले रहेको छ । हिरा, सुन र चाँदीको मिश्रणले यस्ता कपडाको मूल्य बढाएको छ । पुराना करोडौं मूल्यको कोईचिनको बख्खु अर्को विशेषता हो । यो बख्खु (महिला र पुरुषको वस्त्र) हाल संरक्षणका लागि मात्र राखेको पाईएको छ ।

लिमीको सांस्कृति

ऐतिहासिक महत्व

प्राचीनकालीन सभ्यताको इतिहास बोकेका कलात्मक शैलीमा कुदिएका शिलालेख मूर्तिहरु भेटिन्छ । फरक पहिचान सहितको खस साम्राज्यको आधार खण्ड भनेर चिनिने अनि लुकेको तिव्बतिय संस्कृतिको आकर्षण केन्द्रको रुपमा हुम्लाको लिमी उपत्यका रहेको छ ।लिमीको टाक्चीमा एउटा कोट दरबार छ । डाँडाको चुच्चोमा अहिले पनि दरबारको अवशेष भेट्न सकिन्छ । कोटको माथि सेउ कुनाको छेउमा बौद्ध गुम्बा छ ।

परापूर्वकालमा तिब्बतमा गुम्बाबाट राजकाज चलाउने गरिएकाले तिब्बतबाट आएका शासकहरुले त्यही गुम्बा र दरबारबाट त्यसबेलाको लिमी क्षेत्रमा शासन गरेको बेला कोट दरबार र गुम्बाको बीचमा बगेर आएका दुई नदीको बीचमा लिमे (हालको लिमी) बस्ती रहेको, पछि शासन व्यवस्था फेरिएर दरबार र गुम्बा दुवैको प्रभाव कम भएपछि लिमे बस्ती पनि त्यहाँबाट सरेको देखिन्छ । शुरुमा एकै गाउँमा रहेको लिमे वस्ती अहिले तिल, जाङ र हल्जीमा सरेपछि लिमीका रुपमा चिनिएको छ ।

करिब ११ सय वर्ष अगाडिदेखी यो बस्ती लुकेको सुन्दर हिमाल भित्रको स्थान हो । परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनको लागि पनि यो गाउँ प्रसिद्ध रहेको छ । ११ औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना ठूला गुम्बा यहाँका अर्का आकर्षणको केन्द्रविन्दु हुन् ।

लिमी उपत्यकामा प्राचिनकालका बहुमुल्य मुर्ति भएका गुम्बा नै गुम्बाको उपत्यका हो । महँगा मुर्ति, पौराणिक वास्तुकला यहाँको मुख्य विशेषता हो । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृती लगायतका वस्तु अति नै लोभ लाग्दा छन् ।

पृथ्वी नारायण शाहको पालामा बनेका वि.सं. १९४५ सालमा निर्मित माना पाथी, ढक तराजु लगायतका सामग्री अझै संरक्षणमा रहेका छन् । बौद्धधर्मलम्बीका लामा पुजारीले प्रयोग गर्ने पुजाआजाका सामग्री र अन्य बन्दोबस्तीमा प्रयोग हुने पुराना सामग्री तथा पोशाकहरु यहाँ भेटिएका छन् ।

यहाँ ११ औं शताब्दीमा निर्मित हल्जी गुम्बा छ । तत्कालीन लोचाओ (कवि) रिञ्जिन जाङवुले भारत, नेपाल र तिब्बतमा निर्माण गरेका १०८ गुम्बामध्ये अन्तिम गुम्बा लिमीमै अवलोकन गर्न सकिन्छ । तत्कालीन सिंजा राज्यका एक राजाले बुद्ध धर्म मान्ने भएकाले यही गुम्बामा आएर श्रमदान गरेको लिपि पनि यहाँ सुरक्षित छ ।

पर्यटकीय  महत्व

हुम्लाको सदरमुकामबाट उत्तरी नाम्खा गाउँपालिकाको मुचु हुँदै हिल्सामा पुगेपछि ४ घण्टाभित्रै कैलाश पर्वत र मानसरोवर दर्शनको लागि त्यहाँ सहज रुपमा दर्शन हुन्छ । धार्मिक र साँस्कृतिक महत्वको यो ठाउँ हिन्दु र बौद्धधर्मलम्बीको आस्थाको केन्द्रविन्दु हो । तर स्वशासित क्षेत्र चीनको तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवर दर्शनको लागि नेपाली र अन्य देशका नागरिकहरुलाई अझै सहज र छोटो समयमा पनि नजिकै लिमी उपत्यका भित्रै रहेको लाप्चाबाट ५ सय मिटर नजिकैबाट दर्शन गर्न सकिने अवस्था छ ।

नेपाल र भारतका हिन्दु र बौद्ध धर्म अनुयायीहरु एक पटक अनिवार्य रुपमा कैलाश मानसरोवर दर्शन गर्नको लागि अनिवार्य जानुपर्ने धार्मिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ । अर्कोतिर दक्षिणमा भारत र उत्तरमा चीन दुवै देशको सिमानासँग नाका जोड्ने कर्णाली प्रदेशकै हुम्ला जिल्लाको लिमी भ्याली नेपाल सरकारको उत्कृष्ट सय गन्तव्यहरुमध्येको एक हो ।

परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनको लागि गाउँ प्रसिद्ध रहेको छ । अरबौं सम्पतीको गरगहना जो हुम्ला जिल्लाबाट हाल लोप भईसकेको अवस्था छ । त्यसको संरक्षण यो गाउँले गरिरहेको हुनाले यसले पर्यटकिय महत्व बोकेको छ ।

लिमी उपत्यका नेपाली भूमिबाट कैलाश मानसरोवर दर्शन गर्ने ठाउँ हो । लिमीको लोलुङजोङबाट कैलाश मानसरोवर प्रष्ट देख्न सकिन्छ । २०६० सालसम्म यसलाई तिब्बतको कैलाश मानसरोवर पुग्ने मार्गका रुपमा समेत प्रयोग गरिएको थियो । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलोमिटर दूरीमा पर्छ।

यो पनि पढ्नुहोस् : सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी

प्राकृतिक सौन्दर्य

प्राकृतिक सुन्दरता र उत्तरमा रहेका हिमताल, नदिनाला, जंगली वन्यजन्तुको आवास, आहार विहारको सुन्दरता राम्रैसँग हेर्न सकिन्छ । चीनको कैलाश मानसरोवर लिमीको लाप्चाबाट दृश्यावलोकन गर्नको लागि पनि यो मौसम उपयुक्त छ ।

हरेक वर्ष यहाँको प्राकृतिक सुन्दरता र वस्तुस्थितीको बारेमा भिडियो डकुमेन्ट्री बन्ने गरेका छन् । फिल्म र म्युजिक भिडियोमा राख्न लायकको सुन्दर बस्ती र प्राकृतिक सुन्दरताको कुनै बयानै गर्न नसकिने अवस्था रहेको छ ।

जैविक विविधता

उच्च हिमाली पठार क्षेत्र, लिमी उपत्यका प्राकृतिक सौन्दर्य, पर्यावरण, जैविक विविधता र मानव सभ्यताका हिसाबले समेत महत्वपूर्ण मानिन्छ । संस्कृतिमा साथै प्रकृतिमा पनि यो क्षेत्र नेपालकै सबैभन्दा धनी रहेको छ ।

लिमीमा लोपोन्मुख तथा दुर्लभ वन्यजन्तुको आरक्षण स्थलको रुपमा विकास भईरहेको छ । घर आँगनमा नै यस्ता खालका वन्यजन्तु देख्न पाईन्छ । लिमीमा वन्यजन्तुको आवास र प्रत्यक्ष अवलोकन हेर्न लायकको छ । यस क्षेत्रबाट साना-साना लेकका ठुटे मुसादेखि ठुलोमा जङ्गली चौरीगाइको अभिलेखन गरिएको छ । हालका दिनमा नेपालमा जंगली चौरीगाई यो ठाउँमा मात्र भेटिएको छ ।

लिमी उपत्यकामा वन चौंरी, वन घोडा, वन बिरालो, बाघ, हिउँ चितुवा र ध्वाँसे चितुवा, मृग, भालु, लगायतका दुर्लभ वन्यजन्तु समेत पाइन्छन् । सन् २०१३ मा यहाँ राखिएका केही स्वचालित क्यामरामा कैद तस्वीर हेर्दा धेरै थरीका अनौठा र दुर्भल जनावर रहेको प्रमाणित भएको छ।

पहाडमा उफ्रने नाउर र तिनलाई मारिखाने हिउँ चितुवा सहजै देखिन्छन् । हिमाली रातो भालु, र फ्याउ मुसा लेकतिर घुमिरहन्छन् । जंगली गधा जसलाई स्थानीय भाषामा कयांग भनिन्छ फौजी जसरी लस्करै दगुरी रहन्छन् । कालिकण्ठे सारस नेपालमा यही ठाउँमा मात्र बस्छन् ।

लिमीमा लोपोन्मुख तथा दुर्लभ वन्यजन्तुको आरक्षण स्थलको रुपमा विकास भईरहेको छ । घर आँगनमा नै यस्ता खालका वन्य जन्तु देख्न पाईन्छ । गाउँका वासिन्दाले सिकार नगर्ने हुनाले यस्ता जनावर गाउँघरमा नै चरन क्षेत्र बनाउने गरेको पाईएको छ ।

यो क्षेत्रमा अहिलेसम्म ६६ प्रजातिका चरा, २१ प्रजातिका स्तनधारी, १४९ प्रजातिहरुका बिरुवा भेटिएका छन् । यस क्षेत्रमा १४ प्रजातिका मूल्यवान जडिबुडीहरु समेत भेटिएका छन्। थोरै भए पनि भोजपत्र र धुपीका वनहरुले शोभा बढाएका छन् । वासस्थानको विविधताले यस क्षेत्रमा वन्यजन्तुको संख्या र प्रजातिहरु धेरै भएका हुन् ।

यो पनि पढ्नुहोस् : नेपालकै सबैभन्दा अग्लो कालीकोटको पर्यटकीय गन्तव्य पचाल झरना

पर्यटकीय सम्भावना

नाम्खा गाउँपालिकाको अग्रसरतामा यहाको ताल, तलैया, सुन्दर हिमाल र चरन क्षेत्र, जडिबुटी र दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी जस्ता अमूल्य सम्पत्तिको संरक्षणको लागि महोत्सव आयोजना गरी यसलाई प्रचार-प्रसारका साथै आगामी दिनमा अझ विस्तृत योजनाको साथमा गाउँपालिकालाई विकास गरिने लक्ष्य लिएकोले यहाको पर्यटकीय सम्भावना बलियो छ ।

समस्याहरु

प्राकृतिक श्रोत, साधन, धार्मिक-सांस्कृतिक मानव सभ्यताको पहिचानका सम्भावना प्रशस्त भएपनि पर्यटकीय स्थलहरुसम्म पुग्न सक्ने पूर्वाधार नहुँदा यहाँ पुग्नलाई मानिसले चाहेर पनि जान नसक्ने अवस्था भएकाले यहाँको पर्यटन प्रवद्र्धन हुन सकेको छैन । बाटोमा भेटिने खोलानालामा पुलको यथोचित बन्दोबस्त नभएको कारण गाडीको यात्रा त्यती राम्रो मानिदैन ।

कसरी पुग्ने ?

नेपालगञ्ज र सुर्खेतबाट हवाईजहाजबाट सदरमुकाम सिमिकोटको लागि हवाई उडानको भर पर्नु पर्ने हुन्छ । सिमिकोट देखी उत्तरतिर करिब ३ दिन नेपालीको लागि भने विदेशीका लागि ५ दिनको क्याम्प पार गरेर नाम्खाको वडा नं. २ मा रहेको सल्ली खोला हुँदै जान सकिन्छ भने चिन सिमानामा रहेको हिल्साबाट तिल गाउँबाट पनि जान सकिन्छ ।

हिल्सा क्षेत्रबाट जानको लागि मुचुबाट गाडिको यात्रा गर्न सकिन्छ भने सल्लीबाट जानको लागि पनि रिजर्व गाडी लिन सकिन्छ तर प्राकृतिक सुन्दरता नियाल्नेका लागि पैदल नै उत्तम मानिन्छ ।

यो पनि पढ्नुहोस् : जाजरकोटको उत्कृष्ट ऐतिहासिक पर्यटकीय स्थल खलंगा दरबार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !