११ पुस २०८१, बिहीबार

सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी

प्रधानमन्त्रीदेखि सर्वसाधारणको आस्थाको केन्द्र त्रिपुरासुन्दरी


डोल्पाको त्रिपुरासुन्दरी

पृष्ठभूमि : त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको कण्डयाउलो पतन भएको ठाउँ र दश महाविद्या समेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ । बाला त्रिपुरासुन्दरीको मन्दिरस्थललाई ‘त्रिपुराकोट’ पनि भन्दछन् । यो पुरानो तिब्रिकोट जिल्लाको सदरमुकाम क्षेत्र हो ।

यहाँको सुरम्य डााँडको मन्दिर परिसरमा चारैतर्फ सत्तल एवं पार्टी-पौवाहरूले घेरिएको बीचमा भगवतीको मन्दिर छ । मन्दिरको दक्षिणतर्फ रहेको एक प्राकृतिक शिलालाई ‘त्रिपुरादेवी’ भन्दछन् । यो एउटा भगवतीको भावनात्मक ‘शक्तिपीठ’ हो ।

परिचय

त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र कर्णाली प्रदेशको सबैभन्दा ठ्रलो जिल्ला डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्दछ । ईसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ । यसको चारैतिर होचो भू-भाग र दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ छ । यहाँ बीचैमा उठेको थुम्को र त्यसैको थाप्लामो अडिएको विशाल संरचना छ । करिब ७ हजार फिटको उँचाइमा यो तीर्थस्थल रहेको छ ।

मन्दिर नेपालका परम्परागत मन्दिर भन्दा फरक शैली र आकारको छ । ईसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ । यस मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ ।

उत्तरतर्फबाट आउने ताम्रवर्णी, पूर्वबाट आउने सुन्दरी खोला र दक्षिणतर्फबाट झर्ने भैरवी खोलाको सङ्गमस्थल दोभान) भन्दा अलिकति माथि डाँडाको टुप्पामा त्रिपुरासुन्दरी देवीको मन्दिर रहेको छ । यहाँ उत्तर र पूर्वबाट आउने खोलालाई ‘छलगाड’ पनि भन्दछन् । यसै सङ्गम स्थलबाट भेरी नदीको सुरूआत हुन्छ ।

त्रिपुरासुन्दरी मन्दिर राजा, प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुख लगायत उच्चपदस्थ व्यक्तित्वको पनि गन्तव्यस्थल बन्ने गरेको छ । यहाँका बुढापाकाको भनाइ अनुसार पूर्वराजा महेन्द्र, वीरेन्द्र, दीपेन्द्र, ज्ञानेन्द्र शाहदेखि गुरु शंकराचार्य र पुरीनाथ बाबा लगायतले मन्दिरको दर्शन गरिसकेका छन् ।

२०७४ साल चैत ३० गते मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिपुरा सुन्दरीमा पूजाआजा गरेका थिए । इतिहासमै पहिलोपटक बहालवाला प्रधानमन्त्रीले त्रिपुरा सुन्दरी मन्दिरमा पूजाआजा गरेको उदाहरण हो ।

२०७४ साल चैत २९ गते ३ जना भारतीय पूर्वराजदूतले त्रिपुरा सुन्दरी मन्दिरको दर्शन गरेका थिए । १५ दिने डोल्पा पदयात्राका लागि भारतीय पूर्वराजदूतहरू रणजीत राय, श्यामशरण, देव मुखर्जी डोल्पा पुगेका थिए ।

डोल्पाको त्रिपुरासुन्दरी

इतिहास

परापूर्वकालमा डोल्पाको साविकको त्रिपुराकोट गाविसको कोट गढीमा विक्रम शाही महाराजको दरबार थियो । शाहीले यसै कोट गढीका १४ घर बिष्टलाई आफ्ना काजीका रुपमा राखेका थिए । अहिले मन्दिर भएको ठाउँमा राजाको दरबार थियो । त्यस दरबार नजिकै एउटा धान कुट्ने ओखल थियो । ओखलमा धान कुट्ने गरिन्थ्यो ।

धान कुट्दै जाँदा एकाएक यस ओखलमा अनौठा क्रियाकलाप देखिन थाल्यो । कहिले चारपाथी धान कुट्दा आठ पाथी चामल हुने र कहिले दुई पाथी धान कुट्दा दुई माना चामल हुने गर्दथ्यो । यस्ता अचम्मका घटना भएपछि यो कुरा मन्त्री बिष्टका कजेनीहरुले आफ्ना काजी बिष्टहरुलाई बताए ।

काजीहरुले यो कुरा थाहा पाएपछि आफ्ना राजा विक्रम शाहीलाई सुनाए । शाहीले यस्तो अचम्मको कुरा थाहा पाएपछि तत्काल आफ्ना प्रजाहरुलाई बोलाएर ओखल उत्खनन गर्ने मनसाय पोखे । ओखलमुनि के रहेछ भन्ने अनौठो कुरा हेर्न राजा र प्रजा आतुर थिए । सल्लाह भएअनुसार भोलिपल्ट बिहानैदेखि सबै गाउँले बोलाएर ओखल उत्खनन गर्न लगाए ।

उत्खननमा सयौँ मान्छे लगाइयो । बेलुकी हुँदासमेत ओखल निकाल्न सकिएन, थोरै बाँकी रह्यो । सबै थाकेका थिए । बाँकी रहेको काम भोलि पूरा गर्ने शर्तमा सम्पूर्ण टोली घर फर्किए । भोलिपल्ट बिहानै सबेरै ओखल उत्खनन गर्न आउँदा त ओखल जस्ताको तस्तै उत्खनन नगरेकै जस्तो अवस्थामा देखिएपछि सबैजना चकित परे । राजाले विभिन्न गाउँबस्तीबाट हजारौँ मान्छे बोलाएर रातदिन लगाएर ओखल उत्खनन गर्न लगाए ।

लगातार दुई दिनसम्मको प्रयासपछि ओखल निकालियो । त्यो अचम्मको ओखलभित्र अनौठा दृश्यहरु देखिए । ओखल तलपट्टि तामाको ओदान, ओेदानमाथि घिउको कराईमाथि तामाको थाली, थालीमाथि षट्कोण यन्त्र, त्यसमाथि कुँडेस र त्यसभित्र नवदुर्गा भगवतीका नौ बहिनीका स्वरुप देखिए । खन्दै गर्दा बाउसोको टुपो तामाको षट्कोण लिखित यन्त्रमा लाग्यो । खन्ने काजी बेहोस भए ।

पुतलीरुपी देवीहरु उडेर विभिन्न ठाउँमा विराजमान भइन् । देवीको रुप लिएका पुतलीहरु बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बडीमालिका लगायतका नामले प्रसिद्ध छन् । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा विराजमान छन् । विराजमान चार देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छन् । परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन् ।

धार्मिक तथा सांस्कृतिक महत्व

यस मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ । त्रिपुरासुन्दरी मन्दिरदेखि पाँच मिनेटको दूरीमा भैरव मन्दिर पनि रहेको छ ।

यहाँ खासै मूर्ति छैन । प्रस्तुत प्राकृतिक शिलालाई चवरले छोपिएको हुन्छ । यिनै मूर्तिको पूजा गरिन्छ । नित्य पूजा पनि हुन्छ । दशैमा विशेष पूजा हुन्छ, मेला लाग्छ ।

त्रिपुरासुन्दरीको स्थान वा मन्दिर प्राचीनकालदेखि नै मान्यता रहेको ‘पीठ’ हो । यहाँका सत्तल पाटीपौवाहरू पनि पुरानै हुनुका साथै सँगै दक्षिणतर्फ यज्ञशाला छ । यहाँ हवन-पूजन हुने गर्छ । होम गर्नका लागि अग्निको होमकुण्ड पनि छ ।

यो मन्दिर नेपालमा रहेका त्रिपुरा सुन्दरी देवीका मन्दिरमध्ये प्रमुख शक्तिपीठ हो । ‘त्रिपुरा सुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको कन्ड्यौलो पतन भएको ठाउँ र दशमहाविद्या समेत उत्पत्ति भएकाले यो मन्दिरको महत्व बढी छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

श्री स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको अंग कण्डयाउलो (ढाड) पतन भएको शक्तिपीठ हो यो । यस क्षेत्रमा वर्षाका देवता मेघले तपस्या गरेकाले चरम खडेरी परेको बेला पूजापाठ गरे पानी पर्ने जनविश्वास छ । सतीदेवीको अंग पतन भएपछि शक्ति स्वरुपाका रुपमा भैरवेश्वर महादेव उत्पत्ति भएको किंवदन्ति छ ।

नेपालका बाइसे चौबिसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाको शहर तार पुग्दा बाँदर फड्का खोलामा पुल नलाग्दा त्रिपुरासुन्दरीलाई गुठीका रुपमा चढाउने भाकलपछि पुल लागेको र डोल्पाका नौ राज्य एकीकरण गरेको किंवदन्ती छ ।

जिल्लाको आराध्य एवं पूजनीय स्थलको रूपमा मानिदै आएको यो एक तीर्थस्थल हो । त्रिपुरासुन्दरी माईको प्रत्यक्षतामा गहिरो जनविश्वास रहिआएको छ । यहाँ पूजन र दर्शन गर्नु कल्याणदायक मानिन्छ ।

प्राकृतिक सौन्दर्य

डोल्पाको त्रिपुरासुन्दरी मन्दिरको बाहिरी संरचना र यहाँबाट देखिने दृश्य अत्यन्तै आकर्षक र लोभलाग्दा छन् । मन्दिरबाट देखिने गाउँबस्ती, हिमाल, पहाड, नदीनालाको दृश्यावलोकन पूजाआजा पछिको भक्तजनको मुख्य रोजाइमा पर्छ । मन्दिर पुगेपछि देखिने यस्ता दृश्यले मन्दिर पुग्ने जो कोहीको पनि मन लोभिने गर्दछ । मन्दिरबाट देखिने गाउँबस्ती, हिमाल, पहाड, नदीनालाको दृश्यावलोकन पूजाआजा पछिको भक्तजनको मुख्य रोजाइमा पर्छ ।

पर्यटकीय महत्व

राष्ट्रिय सडक सञ्जालले नछोएको डोल्पा जिल्ला बाह्रै महिना घुम्नका लागि उपयुक्त स्थान हो । त्रिपुरासुन्दरी पर्यटन मात्रै पर्यटकीय गन्तव्यका रुपमा छनोटमा परेका छन् । प्राचीन शैलीमा निर्माण गरिएको उक्त मन्दिर देशका प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ व्यक्तित्वको प्रमुख गन्तव्य स्थल बन्दै आएको छ ।

आकर्षणहरु

यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी नदी, मन्दिरको पारिपट्टि देखिने हिउँले सिँगारिएका मुकुटेश्वर, कागमारा र अरु हिमाल, आँखैमा टाँसिएजस्तो देखिने सोत्तर उम्रेका उराठ नाङ्गा डाँडापाखा । मन्दिर अवस्थित जमीनसँग जोडिएको उर्बर फाँट, धान, मकै, गहुँ, जौ जस्ता अन्नबाली , रङ्गीचङ्गी जस्ता छाइएको बस्ती आदि त्रिपुरासुन्दरी मन्दिरका यी बाहिरी आकर्षण हुन् ।

पर्यटकीय सम्भावना

त्रिपुराकोट होमस्टे त्रिपुरासुन्दरी नगरपालिका–१ डोल्पा, छार्का ताङसोङ गाउँपालिकाको कागकोट होमस्टे र त्रिपुरासुन्दरी बगर होमस्टे त्रिपुरासुन्दरी–१ बगरमा यो वर्ष पर्यटकहरुबाट समुदायमा समानरूपले आयआर्जन तथा आम्दानी होस् र स्थानीयवासीको जीवनस्तर उठ्न सकोस् भन्ने हेतुले होमस्टे सञ्चालन हुन लागेको हुनाले र यो मन्दिरको धार्मिक र प्राकृतिक सौन्दर्यको कारण पर्यटकीय सम्भावना राम्रो रहेको छ ।

कसरी पुग्ने ?

कर्णाली अञ्चल, डोल्पा जिल्ला सदरमुकाम दूनेबाट करिब १० कोश जति टाढा त्रिपुराकोट काइगाउँमा ‘बाला त्रिपुरासुन्दरी’ को मन्दिर अवस्थित छ । डोल्पासम्म पुग्न नेपालगञ्जबाट जहाज चढेर जुफाल विमानस्थल झर्नुपर्छ भने सडक मार्गको प्रयोग समेत गर्न सकिन्छ । २ दिनमा पुग्न सकिन्छ । यहाँ जुम्ला सदरमुकामबाट १ दिनमा पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

जाजरकोटको उत्कृष्ट ऐतिहासिक पर्यटकीय स्थल खलंगा दरबार

दैलेखको पवित्र तीर्थस्थल पञ्चकोशी ज्वाला क्षेत्र

प्राचीन बौद्ध धर्मको विकास र विस्तारको अवशेष पाइएको ऐतिहासिक स्थल काँक्रेविहार

द्धन्द्धकालमा माओवादी छापामार हिँडेको बाटो गुरिल्ला ट्रेयल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !